
काठमाडौं, २४ मंसिर- देशभर वर्षमा नौ हजारभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । हिंसाका घटना गत वर्षको तुलनामा दुई हजार बढी भएको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७२-७३ मा प्रहरीमा घरेलु हिंसाका नौ हजार तीन सय ९८ उजुरी परेका छन् । 
यो संख्या गत आवको भन्दा २० प्रतिशतले बढी हो । आव ०७१-७२ को असार मसान्तसम्म भने सात हजार ६ सय ४८ घरेलु हिंसाका उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाँच विकास क्षेत्रमध्ये मध्यमाञ्चलमा घरेलु हिंसा बढी हुने गरेका छन् । त्यसमा पनि सबैभन्दा बढी उपत्यकामा हिंसाको घटना भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिए । उनका अनुसार बितेको एक वर्षमा मध्यमाञ्चलमा दुई हजार आठ सय घटना भएका छन् ।
तीमध्ये उपत्यकामा मात्रै एक हजार नौ सय उजुरी परेका छन् । प्रहरीको विश्लेषणमा सामान्य लेखपढ गरेको परिवारमा घरेलु हिंसाका धेरै घटना हुने गरेका छन् । महिला हिंसाका घटनामा जबर्जस्ती करणी, कुटपिट, बहुविवाह, मानसिक यातना, आर्थिक यातना, नागरिकता, यौनजन्य हिंसा, कर्तव्य ज्यान, मानव बेचबिखन, बोक्सीको आरोप, सम्बन्धविच्छेदलगायत २१ किसिमका हिंसालाई राखिएको छ । नयाँ पत्रिकामा खबर छ ।