२१ जेठ २०८३, बिहीबार

महँगो मूल्य पाइने आसमा भण्डारण गरिएको सुन्तला कुहियो

महँगो मूल्य पाइने आसमा भण्डारण गरिएको सुन्तला कुहियो
फाइल तस्बिर

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।

किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । केही दिन अघि हेर्दा छ÷सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए । अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा छन् । अहिले बोटबाटै प्रतिकिलो रु ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । “कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ”, उनले भने ।

पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला रु आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गरे । सुन्तला कुहिएको पाएपछि उनले सस्तैमा सुन्तला बिक्री गर्न थालेका छन् । 

“मापदण्डअनुसार नै सुन्तला भण्डारण गरियो” उनले भने, “यस्तो प्राविधिक विषयमा व्यवस्थापन पक्षको लापर्बाहीका कारण धेरै किसानले नोक्सानी व्यहोर्नुपरेको छ ।” बर्सेनि रु एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनले बताए । 
किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिँदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ । गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कति कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । 

स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका सुन्तला यहाँ भण्डारण गरिएको थियो । भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । 

हाल एक हजार तीन सय टन क्षमताको शीतभण्डार सञ्चालनमा छ । सोही ठाउँमा एक हजार दुई सय टन क्षमताको अर्को शीतभण्डार निर्माणको क्रममा छ । 

यसपटक सुन्तलाको उत्पादन धेरै भएकाले किसानले धेरै सुन्तला भण्डारण गर्न ल्याएको सुन्तला सुपरजोन कार्यक्रमका प्रमुख माधव लम्सालले बताए । शीतभण्डारमा भण्डारण गरिएको सुन्तला केही मात्रामा कुहिएपछि धेरै भण्डारण गर्ने किसानलाई बढी मर्का परेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्