०४ साउन २०८३, सोमबार

स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल

स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल

गलकोट नगरपालिका –५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको छ । त्यसका लागि हालको जग्गा कम भएकाले दुई रोपनी जमिन थप गर्ने तयारीसमेत गरिएको वडा नं  ५ का अध्यक्ष पवन हमालले बताए । 

पन्ध्र शय्याको अस्पताल बनाउने तयारी पछि यहाँको संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता भएको हमालले जानकारी दिए । त्यसका लागि कम्तीमा दुई जना डाक्टर रहने व्यवस्थापन गरिएको छ । हाल दरबन्दीमा रहेका एकजना डाक्टरले मात्र सेवा प्रवाह नपुगेपछि अर्का डाक्टरको थप गर्न लागिएको हो । “छात्रवृत्ति करारमा आएका डा राजेश पौडेललाई नगरपालिकाले समेत सेवा थप गरेर राख्ने तयारी छ”, उनले भने, “नियमित डाक्टर बस्ने भएमा सेवाग्राहीमा पनि विश्वास बढेर नगर अस्पतालको गरिमा बढ्छ ।” गलकोट नगरपालिका वडा नंं ५ र ६ बाहेक ताराखोला गाउँपालिकालाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुँदा गलकोट नगरपालिका भरका सेवाग्राहीले पनि सेवा लिन पाउने छन् । 

नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई ‘ओएनएम’ सर्भे गरिदिन पनि आग्रह गरेको छ । यो अस्पतालमा नियमित उपचार सेवाबाहेक शल्यक्रिया सेवा पनि सञ्चालनमा छ । नगरपालिका र अस्पतालमा जानकारी नभई डाक्टर हिँड्ने प्रवृत्ति अन्त्य गर्न पनि अधिकांश नगरवासीले माग गरेका छन् । अस्पतालमा अहिले नै दैनिक ५० देखि ६० बिरामी आउने गर्छन् ।

अस्पताल बन्नका लागि १५ शय्या, एक जना विशेषज्ञ डाक्टरसहित तीन डाक्टर, सुरक्षित प्रसूतिकर्मीलगायतको स्वास्थ्यकर्मीको दरबन्दी चाहिन्छ । औषधि र एम्बुलेन्सलगायतका साधन पनि प¥याप्त बनाएर अस्पताललाई चुस्त बनाउन लागिएको नगर उप्रमुख फमलाल निउरेले बताए । अमित बिल्डर्सले बनाएको केन्द्रको नयाँ भवनले अस्पताल सञ्चालनमा सहज भएको हो । अस्पताल भए पनि चाहिने अन्य पूर्वाधारका लागि भने जग्गा अभाव भएपछि नजकिको जग्गा व्यवस्थापन गर्न नगरपालिकाले चासो दिएको हो । 

मन्त्रालयका प्राविधिक आएर सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ हो । “ओएनएम सर्भे भयो भने पाइने सेवा सुविधाबाट गलकोट अस्पताल राम्रो चल्छ”, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देबप्रकास घिमिरेले भने, “आवश्यक स्थानमा सेवा प्रवाहमा चाहिने तालिमलगायतको सेवा कार्यालयले सहयोग गर्छ ।” हाल पाँच शय्या सञ्चालन भएको अस्पताललाई १५ पन्ध्र बनाउन लागिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्