संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटकको सुरक्षाको प्रत्याभूतिका लागि पर्यटन प्रहरीले खेलेको भूमिका महत्वपूर्ण र प्रसंशनीय रहेको बताएका छन् । ४४ औं पर्यटक प्रहरी दिवस २०७९ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री किरातीले सो कुरा बताएका हुन् ।
नेपाल पर्यटनबोर्डमा आयोजित कार्यक्रममा मन्त्री किरातीले सीमित साधन स्रोतकाबीच पर्यटन प्रहरीले गरेको कामको उनले प्रसंशा गरे । पर्यटन प्रहरीलाई आउँदा दिनमा थप सशक्त भएर काम गर्न निर्देशन दिए । प्राकृतिक सम्पदना र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा लाग्न पनि उनले जोड दिए ।
पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा विशेष योगदान गर्ने विभिन्न संघ संस्थाहरूलाई सम्मानपत्र प्रदान गरिन् । पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवम् नीति तयार गरी सोहीअनुरूप आगाडि बढ्नुपर्ने उनले बताइन् ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई नगद तथा प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरीको महत्वपूर्ण विशिष्टिकृत ईकाइको रूपमा पर्यटक प्रहरीको स्थापना भएको चर्चा गरे । पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनीय भूमिका निर्वाह गर्दैआएको उनले बताए ।
पर्यटकलाई सेवा विस्तार सँगै उनीहरूको सुरक्षासँग सम्बन्धित बिषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दैआएको उनले चर्चा गरे । पर्यटक प्रहरीले गर्ने व्यवहारको प्रभाव अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसार हुने र यसले देशलाई नै प्रतिविम्वित गर्न सक्ने हुनाले सकारात्मक सन्देश प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मसउँद आलम खाँ, नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी लागयतले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजान सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा पर्यटक प्रहरीको गतिविधीसम्बन्धी भिडियो प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति गरिएको थियो ।