२९ जेठ २०८३, शुक्रबार

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने, भर्टिकल ट्यांकहरूको निर्माण शुरु

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने, भर्टिकल ट्यांकहरूको निर्माण शुरु

नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्यांकहरूको निर्माण शुरु गरेको छ ।

निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो ।

निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भने पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरूको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको बताए ।

उनले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताए ।

दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने उनले जानकारी दिए।

प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए ।

निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताए ।

उनले निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताए ।

उनले निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको बताए ।

भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ बचत हुने उनले बताए ।

अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भएको बताए ।

उनले दोस्रो चरणको भर्टिकल ट्यांकहरू निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताए ।

प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए ।

उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण समेत  हुने बताए ।

आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने उनले बताए ।

अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुने उनले बताए ।

यसबाट प्राविधिक नोक्शानी शून्य हुने, ढुवान भाडा वचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न समेत सहयोग पुग्नेको विश्वास छ।

तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपैयाँ बचत हुन्छ। तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७ सय ट्यांकर आवाजावत हुने उनले बताए ।

दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रूपमा हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्