
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।
दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरूको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो ।
एमालेसहित दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए।
बैठकमा धेरैजसो नेताले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोहीअनुसार अघि बढने नीति लिएको उनको भनाइ थियो।
उपाध्यक्ष महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरूको आवाज आएको छ । राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हँदैन ? त्यो बाँकी छ । तर हाम्रो मत भने त्यो हो । अरू पार्टीसँग छलफल गर्न हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’