
देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहे पनि आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने छ । विहानीपख तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ ।
भोलि १५ गते आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोही राति प्रदेश १, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली कायमै रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
सोहीअनुसार १६ गते सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको केही भूभागमा हल्का वर्षा हुनेछ । राति उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै, विभागका अनुसार तराईका केही स्थानमा विहानीको समयमा कुहिरो लागेर चिसो बढ्ने छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।