
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकारी वेबसाइटहरू एकै पटक डाउन भएका हुन्। ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू घुम्ने र नखुल्ने भएका थिए ।
यो क्रम करिब दुई घण्टा चलेको थियो । कतिपयले साइबर हमला भएको आशंका गरेपनि आधिकारिक निकायले बढी ट्राफिक आउँदा सिस्टम डाउन मात्रै भएको जिकिर गरेको छ । यसैबीच शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि शनिबार ‘सर्भर डाउन’ भयो । जसका कारण विमानस्थल करिब दुई घण्टा प्रभावित बनेको थियो ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए । सबै सरकारी सर्भर डाउन भएकाले विमानस्थलमा पनि समस्या आएको उनको भनाइ थियो ।
००००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानुनी राजको उदाहरण प्रस्तुत गरेको बताएका छन्।
नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको शनिबार विराटनगरमा उद्घाटन गर्दै नेता कोइरालाले संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने बताए।
००००
नागरिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज भएपछि उनले सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लिएका छन् ।
००००
रविको सांसद पद गएपछि अब उनले जितेको क्षेत्रमा कहिले उपनिर्वाचन हुन्छ भन्नेमा धेरैको चासो देखिएको छ । किनकी छोटो समयमा राजनीतिको उचाइ पुगेका रवि एकाएक तल झर्न पुगेका हुन् । यसैले उनका समर्थक उनको नागरिकताको सवाल मिलेपछि पहिले जितेकै चितवन २ बाट फेरि सानदार जितसहित पहिले जस्तै गरी राजनीति अग्रभागमा देखिनुपर्ने मानसिकतामा छन् । कानुनले ६ महिना कार्यकाल बाँकी हुँदासम्म उपनिर्वाचन गर्नुपर्ने भनेको छ । तर रिक्त भएको पदमा कहिले उपनिर्वाचन गर्ने भन्ने प्रष्ट छैन । सरकारले आफ्नो अनुकुलतमा उपनिर्वाचनको मिति तोक्ने गर्छ ।
००००
काठमाडौंको माइतीघरमा शनिबार बिहान रवि लामिछाने समर्थकहरूले प्रदर्शन गरेका छन्। समर्थकहरूले माइतीघर चोकबाट बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। त्यस क्रममा उनीहरूले रविको पक्षमा नारा लगाएका थिए ।
००००
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन्।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी नजाले अडान कायमै भएको बताइन्।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरूको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जाने बताइन्। यसैबीच अभिनेत्री एलिजा गौतम सो पार्टीमा प्रवेश गरेकी छन् ।
००००
शनिबार साँझ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।
धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताएका छन् ।
राजविराजमा शनिबार आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राजनीति र चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताए ।
००००
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो ।
००००
सर्वोच्च अदालतको फैसलालगत्तै अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेका दाजु हरिशरण लामिछानेले एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू आफैँ खुल्ने बताएका छन् । लामिछानेको नागरिकता अवैध भएको ठहरसहित अदालतले फैसला गरेको भोलिपल्ट उनले सकारात्मक र आशावादी बन्न पनि आग्रह गरेका छन् ।
००००
पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सरकारले ६८ वर्षको उमेरमा दिने वृद्धभत्ताको उमेरलाई घटाएर ६५ मा झार्न पहल गर्ने बताएका छन् ।
पर्साको पर्सागढी नगरपालिकाका ज्येष्ठ नागरिकलाई कम्बल र च्यावनप्रास वितरण गर्दै पूर्वमन्त्री यादवले वृद्धवृद्धाका लागि भत्ता पाउने उमेर ६८ वर्षभन्दा पनि ६५ वर्ष उपयुक्त रहेको बताउँदै यसका लागि आफूले संसद् मार्फत पहल गर्ने बताएका हुन् ।
००००
पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए–नभएको हेर्न एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा उनले संविधान बनाउने तर कार्यान्वयन नहुने चिन्ता व्यक्त गरे।