नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरूले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।
क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मलेन कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठक र पदक खड्कालाई राजीनामा दिन माग गरेका हुन् ।
केन्द्रीय सदस्य छुम्बी लामाले गैरकानुनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको दाबी गरे।
गलत तरिकाले गरिएको सम्झौताका कारण उदीययमान खेलाडी सीआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको लामाले बताए।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा आयोजना भएको टी–२० लिग प्रतियोगितामा क्यानसँग सम्झौता गरेको रणनीतिक र व्यावसायिक साझेदार कम्पनी सेभेन थ्री स्पोट्र्सकै प्रमुख स्पट फिक्सिङमा संलग्न हुनु दुखद् रहेको भन्दै कार्यसम्पादन समिति दोषी रहेको आरोप लगाएका छन् ।
उनीहरूले लिगको साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्रिकेटको क्यान नेतृत्व भएको र महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै यसको जिम्मेवार हुनुपर्ने पत्रकार सम्मेलनमा उपस्थित एक सदस्य ऋषिराम गौतमले बताए।
उनीहरूले स्पट फिक्सिङ हुँदा संस्था विरलै प्रत्यक्ष रुपमा संलग्न हुने गरेको तर साझेदार कम्पनी नै फिक्सिङमा संलग्न भएको भन्दै क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने गौतमले बताए।
नेपाल क्रिकेट संघभित्र अवाञ्छित विधानविपरीत काम गर्ने र नेपाल क्रिकेट संघलाई डुबाउने नेतृत्वलाई बर्खास्ती र कारबाही माग गरेका हुन् ।
सम्झौतामाथि टिप्पणी गर्दै आफूहरूले दुर्घटना हुने भन्दै सचेत गराउँदा पनि कार्यसम्पादन समितिले नेपाल टी–२० लिगको आयोजनाका लागि रणनैतिक र व्यावसायिक साझेदारका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेर गल्ती गरेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सञ्जयराज सिंहले बताए।
उनले नेतृत्वलाई बारम्बार सचेत गराउँदा समेत नेतुत्वले अेटरी गरेको आरोप लगाए।
आगामी दिनमा यस्तो नजिर नबस्न कारबाही हुनुपर्ने सिंहले माग गरे।
पुस ९ गतेबाट २७ गतेसम्म आयोजना भएको प्रतियोगितामा खेलाडीले पारिश्रमिक नपाएको र फिक्सिङका लागि अप्रोच आएको सहभागी खेलाडीले नै बताएका थिए ।
खेलाडीको सो अभिव्यक्तिपछि लिगमा विवाद बाहिरिएको थियो । सो घटनाक्रमपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निस्कर्ष निकालेको थियो ।
प्रारम्भिक अनुसन्धानपछि सीआईबीले पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
साथै एकेन्द्र कुँवरको संयोजकत्वमा गठित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छानबिन समितिले क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियमबमोजिम प्रक्रिया पूरा नगरिएकाले तत्काल खारेज गर्न सुझाव दिएको थियो ।
क्यान र सेभेन थ्री स्टारबीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो ।