
राहदानी विभागले सेवा सहज बनाउन भन्दै पहल थालेको जनाएको छ । जसअनुसार विभागले माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन फाराम खोल्ने जनाएको छ ।
प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने विभागले जारी गरेको सूचनामा उल्लेख छ । अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस ब्यवस्थालाई निरन्तरता दिने विभागको भनाइ छ । यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको विभागले जनाएको छ ।
सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूलाई पनि सोहीअनुसार अनलाइन आवेदन फाराम खोल्ने व्यवस्थाका लागि अनुरोध गरिएको विभागले जनाएको छ । यसरी राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट एकसाथ धेरै फाराम खोल्दा सेवाग्राहीहरूलाई फाराम भर्ने विभिन्न विकल्प हुने र सहज फाराम पाइने अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।
यसबाहेक जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र, तराइका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र, पहाडका सुगम जिल्लाहरूमा १५ देखि २० दिनभित्र, हिमाली जिल्लाहरूमा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।
उल्लिखित व्यवस्था लागू गरी अनलाइन राहदानी फारामलाई सहज बनाई नेपाली नागरिकहरूलाई सरल, सहज र झन्झटरहित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको भन्दै विभागले आवश्यक सहयोग गरिदिन पनि सरोकारवाला सबैसँग अनुरोध गरेको छ ।