२७ जेठ २०८३, बुधबार

बक्यौता भुक्तानी गर्न यूटीएललाई माघ मसान्तसम्मको समय

बक्यौता भुक्तानी गर्न यूटीएललाई माघ मसान्तसम्मको समय
प्रतिकात्मक तस्वीर

नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकमलाई (यूटीएल) बक्यौता बापतको रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सोमवार एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न यूटीएललाई निर्देशन दिएको हो ।

यूटीएलले प्राधिकरणलाई ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३ भुक्तानी गर्न बाँकी छ । कम्पनीलाई विक्रम संवत् २०७३ भदौ २० गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरिएको थियो । त्यसपछि प्राधिकरणलाई तिर्नुपर्ने अनुमतिपत्र नवीकरण दस्तुर बापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष लगायत दस्तुर रकम भुक्तानी गरेको छैन । 

लामो समयसम्म तोकिएको रकम भुक्तानी नगरेपछि प्राधिकरणले माघ मसान्तसम्मको समय तोकेर भुक्तानी गर्न निर्देशन गरेको हो । माघ मसान्तभित्र बक्यौता रकम नतिरेमा प्रचलित कानून बमोजिम कारबाही अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले केसीएन नेट प्रालिको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले सोमवार एक सूचना जारी गर्दै केसीएन नेट प्रालि काठमाडौं महानगरपालिका–६ बौद्धलाई दिइएको लाइसेन्स खारेज गरिएको जनाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (ई–मेलसहित) सेवाको अनुमतिपत्र प्राप्त संस्था केसीएन नेटले नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकाले स्वतः खारेज भएको जनाएको छ । अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

इन्टरनेट (ई–मेलसहित) सेवा सञ्चालन गरेबापत नियमअनुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा रकम तिर्न समेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानून अनुसार असूलउपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्