भारतीय वायुसेनाको लडाकू विमान सुखोई–३० र मिराज–२००० शनिवार बिहान मध्य प्रदेशको मुरैनामा ठोकिएका छन् ।
विमान दुर्घटनापछि सुखोईको एउटा टुक्रा मुरैनामा खसेको थियो भने अर्को टुक्रा ९० किलोमिटर टाढा राजस्थानको भरतपुरमा खसेको थियो । भरतपुरको घटनास्थललाई सीलबन्दी गरिएको छ ।
दुर्घटना हुनुअघि सुखोईका पाइलट बाहिर निस्केका थिए । अनि विमान अटो पाइलट मोडमा भरतपुरको नगला तेरह गाउँको एक खेतमा खसेको थियो ।
विमान खसेको ठाउँ नजिकै मानव बस्ती छ । त्यहाँ लगभग १२ सयजना बस्छन् । विमानको एउटा टुक्रा गाउँकी राजवती नामक महिलाको गोडामा लागेपछि उनी घाइते भएकी छन् ।
वायुसेनाले सुखोईको ब्ल्याक बक्स र पार्ट्स खोज्नका लागि शनिवार ड्रोन पनि उडाएको थियो । ठूलो पाटपुर्जा नभेटिएपछि ड्रोन फिर्ता ल्याइएको थियो ।
त्यसपछि सेनाले गाउँलेहरूसँग मिलेर खोजी कारवाही चलाएको थियो ।
वायुसेनाका जवानसँगै ५० जना गाउँले रातभरि पाटपुर्जाको खोजी गरिरहेका थिए । भेटिएका पाटपुर्जा उनीहरूले सेनाको क्याम्पमा ल्याए ।