
काठमाडौंको सीतापाइलामा बस र टाटासुमो एकआपसमा ठोक्किँदा १ महिलाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१५ सीतापाइलामा बस र टाटासुमो आपसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड घर भई हाल काठमाडौंको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको सोमवार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी घलेको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी बसको सहचालकको नेपाल नेसनल अस्पताल कलंकीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका बसमा सवार ३ जना उपचारपश्चात् घर फर्किएका छन् ।
कलंकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा२ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना१ज २४२१ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए ।