
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीया मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुशी छिन् ।
शारीरिक समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् । ‘अरु व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिनँ, बैंकसम्म पुग्न पनि टाढा हुँदा समस्या भएको थियो अहिले घरमै भत्ता पाउँदा छु,’ उनले भनिन् ।
चौमासिक रूपमा पाउँदै आएको भत्ता यसपालि भने घरमै पाउँदा मनकुमारी जस्तै मध्यविन्दु नगरपालिका वडा नम्बर १, २, ३ र ४ का नागरिक पनि खुशी छन् । मध्यबिन्दु नगरपालिकाले बैंकसँगको समन्वयमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट १ हजार ५०० लाभग्राहीलाई गाउँमै भत्ता दिइएको हो । बैंक पुग्न घण्टौं समय लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको मध्यबिन्दु नगरपालिका–१ का वडाध्यक्ष तिलकराम न्यौपानेले बताए ।
‘बैंकमा आउन नसक्ने अपाङ्गता भएका व्यक्ति, अशक्त, बिरामी लगायतका सेवाग्राहीलाई घरमै पुगी भत्ता वितरण गरिएको छ,’ उनले भने ।