

पुजनीय बुवा
साष्टाङ्ग दण्डवत !
बटौलीबाट नुन बोकेर ल्याँउदा संगै ल्याउनुभएको एउटा पित्तलको टुकी मेरो खाडीको भिजा लाग्ने दिनसम्म पनि भान्छाकोठाको माथिल्लो तखतामा हाँसिरहेको थियो । मैले त्यही टुकी बालेर कखरा सिकें । मलाई सम्झना छ, त्यसको मधुर प्रकाश र मट्टीतेलको मीठो बासना संगै मैले स्कुले किताबको धेरै हरफहरु कन्ठस्थ घोकेर स्कुलमा सुनाएको छु ।
दिनहरु फेरिए, त्यो टुकीमा सयौं सलेदोहरु फेरिए होलान । कैयौंपटक मैले सलेदो फेर्दा र मट्टीतेल राखेर सलाई कोर्दा मेरो हात जलेको छ ।
मट्टीतेल पोखिएको छ । तर बुबा हजुरले मलाई गर्ने माया कहिल्यै फेरिएन, सँधै अटल रहिरह्यो । त्यसले कहिल्यै मेरो चित्त जलाएन । हो, कहिलेकाहीँ मेरो चकचके बानीको पुरस्कारको रुपमा केही थप्पडहरु पाएको छु, त्यसले मेरो गाला संगै मुटु बिचार पनि रातो हुँदै आयो । मलाई संघर्षशील हुन प्रेरित गर्यो ।
घर लिप्न आमाले पल्लो डाँडोबाट ल्याउनु भएको रातोमाटो पिर्कामा दलेर खरीले कखरा लेख्न सिकाउनुभएको मैले आजसम्म भुलेको छैन । ती कखराहरु आजकल पिर्का जत्रै मोबाइलमा बुढीऔंलाहरुले फटाफट टाइप गर्न सक्ने भएको छु । अहिले छैन त केवल त्यो खरी, जसले पिर्कामा धर्का मात्र कोरेन, मेरो हत्केलामा भाग्यरेखा पनि कोरिदियो ।
लेखक अर्याल
हजुरका नातिनातिनाहरुलाई एकपटक त्यही पिर्कामा रातो माटो दलेर खरीढुंगाले लेख्न लगाउने मन छ । त्यो पिर्का मझेरीमा सँधै हजुरको पर्खाईमा बसिरहन्थ्यो । अँ एकपटक बाँसघारीको भिरालोमा चिप्लेटी खेल्न जाँदा त्यतै छोडेछुँ, हप्ता दिनसम्म भेटिएको थिएन । एकदिन अचानक एक्कासी भान्छामा त्यसलाई देखेपछि म खुसीले पागल भएको थिएँ ।
हजुरको चोर औंलामा हात समातेर हाट घुम्न जान पाए, कराईभरी राखिएका जिलेबी मिठाईहरु आफ्नै हुन जस्तो लाग्थ्यो । ठाडै उभिएका उँखुका लाँक्राहरुलाई हेरेर मैले गिज्याउने गर्दथें, लाग्थ्यो उनिहरु मेरो शानको अगाडि नतमस्तक छन् ।
बजारका सारा खेलौनाहरु आफ्नै मुठ्ठीमा कैद गरौं गरौं जस्तो लाग्थ्यो । म अरु भन्दा साँच्चिकै अलग थिएँ, किनकी मैले मेरो बुवाको औंला समातेर घुमिरहेको थिएँ ।
बिहान नुहाएर तपाइले भन्ने गरेका संस्कृतका श्लोकहरु मैले बिस्ताराबाटै सुनेर कन्ठस्त पारेको थिएँ, यद्यपि त्यसको अर्थ अहिले गुगलमा खोज्ने गर्छु ।
सरस्वतीका स्तोत्रहरु, गणेशका स्तोत्रहरु र आरतिहरु कन्ठ पार्न मैले कुनै किताबको साहारा लिनु परेन ।
अहिले त बुबा, सबै कुरा फोनको मेमोरीमा सेभ हुन्छ, चाहिएको बेला खोल्यो हेर्यो । घरमा बिजुली आयो, पानीको धारा आयो, पुरानो फिलिप्स रेडियोको सट्टा हातहातमा मोबाइल आयो, त्यो संगै गणतन्त्र पनि आयो । संविधान पनि आयो । तर हजुरको आत्मविश्वास न कहिल्यै पुरानो भयो, न त त्यसको सट्टामा अरु केही आयो ।
संसारमा धेरैले बुबाको कथा, गाथा, ब्यथा लेखेका छन् । हरेकको भोगाई अलग छ, हरेक बुबा आफ्नो सन्तानको लागि राजा हो । बुबाको काखमा हरेकले आफुलाई एउटा राजकुमारको रुपमा पाउँछ । हरेकको सान बढ्छ र नाक लामो हुन्छ । टोलमा अरु साथीहरुसंग देखाउने रवाफमा ९९% बुबाको साहस देखिन्थ्यो ।
बुबा, हजुरले गर्न नसक्ने काम केही छैन जस्तो लाग्थ्यो । चाहे अम्बाको रुखमा चढेर पाकेका अम्बा झार्ने काम होस, चाहे गोठबाट फुकेर बुर्कुसी मारेको बाच्छोलाई समातेर फेरि दाम्लोमा बाँध्ने काम होस, चाहे पँधेराबाट एकैचोटी एउटा गाग्री काँधमा बोकेर अर्को हातले मलाई ताते ताते गराउने काम होस । हामी माथिल्लो बारीबाट तल्लो बारीमा हामफाल्ने खेल खेल्दा पनि यस्तो लाग्थ्यो, हजुरले मैले आँखाले देख्न सक्ने थुप्रै कान्लाहरु एकैचोटी नाघ्न सक्नुहुन्छ ।
आजकल समय परिवर्तन भयो, मान्छेहरु परिवर्तन भए । म आफैं बुबा बनें । हजुरको चोर औँला समाउने मेरो औंलाहरु आजकल खाली छन्, उनिहरुलाई हिँडाल्नु पर्दैन, आँगनमै गाडी आइपुग्छ । आजकल सोचाई परिवर्तन भयो, मेरा छोराछोरीहरुले केही सिक्नु पर्यो भने मोबाइल हेर्छन् ।
पाकेका रसिला आँप खान मन लागे रुख चढ्दैनन, सपिङ जान्छन् । मेरो छोराछोरीको लागि बुबा, आजकल गोठबाट दूध आउँदैन, डेरीबाट आउँछ । पिज्जा, पास्ता खान मन लागे, मेरो हात समातेर बजार जाँदैनन, उनिहरुले घरमै अर्डर गर्छन् । अंग्रेजी गितका श्लोकहरु उनिहरुले युट्युबमा डाउनलोड गर्छन् ।
हजुरले तीस बर्षसम्म मलाई सिकाउनु भएको आत्मविश्वास तीन बर्षको छोराले गर्ल्याम्म ढलाइदिन्छ । अनि मैले भित्रै देखि महशुस गर्छु, मैले पनि त हजुरका कतिपय सपना र अपेक्षाहरु ढलाए हुँला ।
म छोराछोरीकोलागि कैयौंपटक रोएको छु, तर हरेक पटक रुँदा तपाईं कहिल्यै मेरो लागि रुनुभएको थियो कि नाईँ भन्ने प्रश्नले सताईरहन्छ । के सबै बुबाहरु लुकेर मात्र रुन सक्छन ?
आज कुशेऔंशीको दिन हजुरलाई याद गर्ने यो भन्दा अर्को उपाय भेटिन बुबा । आखिर त्यही रातो माटो, पिर्का र खरीले नै मलाई आज बुढीऔंला चलाउन सम्म सिकाए । त्यति बेला हजुरले चिनाउनु भएको कखरा म हजुरलाई नै समर्पण गर्न चाहन्छु । हजुरका आँखा अझै धमिलिएका छैनन, यो पढ्न गाह्रो भए त्यो पावरवाला चश्मा लगाउन नभुल्नुहोला ।
हजुरलाई माया गर्ने छोरा
-ईश्वर अर्याल