
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्राडा. सूर्यप्रसाद ढुङ्गेलले निराश (डिप्रेसन) भयो भनेर लज्जित नहुन आग्रह गरेका छन् । सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा सोमबार ललितपुरमा आयोजित आत्महत्या रोकथामसम्बन्धी सहयोगी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश पनि एक प्रकारको रोग भएकाले बेलैमा सचेत भई उपचार गर्नुपर्छ सुझाव दिए ।
“डिप्रेसन भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन । हरेक मान्छेमा डिप्रेसन हुन्छ । कति प्रतिशत भन्ने मात्रै हो । पाँचा–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ । धेरै प्रतिशत हुँदा समस्या हुने हो”, उनले भने, “आफ्नो ज्यान आफैँले समाप्त गर्नु भनेको मानवअधिकार हनन् पनि हो । बाँच्न पाउने अधिकारबाट आफैँले आफैँलाई समाप्त पार्नु पनि पाप हो । तसर्थ आत्महत्या गरेर आफ्ना परिवारजन, आफन्तमाथि पनि अन्याय गर्नुहुँदैन । एउटा मानिससँग धेरै मान्छेको साथ र अपेक्षा जोडिएको हुन्छ ।”
कार्यक्रममा युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले हरेक मानिसमा घटना र परिस्थितिलाई ग्रहण गर्न सक्ने र सहन गर्न सक्ने क्षमता फरक फरक हुने तर्क गरे । “असहज परिस्थितिको सामना गर्ने क्षमता कम हुने भएकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको देखियो । बालबालिकामा एक खालको डर, त्रास र अनिन्द्रा हुने, खाना खान मन नलाग्ने लगायतका समस्या धेरै अगाडि समयदेखि देखिँदो रहेछ, त्यसलाई बेलैमा पहिचान गरेर उनीहरुमा देखिने समस्या समाधान गर्ने हो भने आत्महत्या धेरै हदसम्म कम हुन्छ” उनले बताए ।
अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतमले आत्महत्या गरेर मर्नेको मलामी जानु पनि महापाप हुन्छ भन्ने कुरा मनुस्मृतिको पाँचौँ अध्यायमा उल्लेख भएको सुनाए । उनले भने, “सबै धर्मग्रन्थ सकारात्मक छन्, समाजमा मात्रै नकारात्मक व्याख्या गरेर खराब बनाइएको हो । सबै धर्मग्रन्थले आत्महत्या गर्नुलाई पापको रुपमा व्याख्या गरेको छ ।”
अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण डिप्रेशन बढ्दै आत्महत्यासम्म पुग्नेगरेको बताए । उनले भने, “शिक्षा, संस्कार, संस्कृति, जीवन र दर्शनसँग जोडेर हामीले हाम्रा बालबालिकालाई सक्षम बनाउनुपर्छ । आत्महत्या रोकथामका लागि विद्यालय र क्याम्पसका विद्यार्थीलाई पनि बुझाएर सचेतना जगाउने काम गर्नुपर्दछ ।”
त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी प्राडा. नन्दिता शर्माले मानिसमा चाहना असीमित हुँदा महत्वकांक्षाले नकारात्मकता तीर लैजाने र परिपूर्ति नहुँदा आत्महत्यासम्म पुग्ने गरेको बताए । ९९ प्रतिशत आत्महत्या जनचेतना, समन्वय र सहयोगमार्फत रोक्न सकिनेमा उनले जोड दिए ।
नायब प्रहरी निरीक्षक महसुद आलम खाँले मानिसको आवश्यकता र सहजतालाई मिलाएर काम गर्ने सक्ने वातावरण सिर्जना गरेर यसलाई नियन्त्रण गर्न सकिने बताए । सुख सुविधाको भोकमा लाग्दा अशान्ति कायम हुने र आत्महत्याको अवस्था सिर्जना हुने उनको तर्क छ । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले आत्महत्याको भयावहबाट हरेक वर्ग प्रताडित रहेको बताए ।
मनोवैज्ञानिकविद् पदमप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले आत्महत्या रोकथाम सबै तहका सरकारको जिम्मेवारीमा पर्ने भएकाले समन्वयका साथ यसका लागि आवश्यक काम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । रासस