२८ जेठ २०८३, बिहीबार

एघार वर्षपछि कलाकार बाङ्देलको शालिक उद्यानमा

एघार वर्षपछि कलाकार बाङ्देलको शालिक उद्यानमा

वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको शालिक एघार वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको शालिक ऐसेलुखर्क –१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो । 

साहित्यकार बाङ्देलको शालिक वडा कार्यालयबाट रु दुई लाख बजेट विनियोजन गरेर घेराबारासहितको उद्यान निर्माण गरेर राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए । “राखाबाङ्देल कलाकार बाङ्देलको पुर्ख्यौली थलो हो”, उनले भने, “लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको बाङ्देलको शालिक वडा कार्यालयको सहयोगमा उद्यान निर्माण गरेर उहाँकै पुर्ख्यौली थलोमा सम्मानस्वरुप राखिएको छ ।”

सार्वजनिकस्थलमा राख्नेगरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेका थिए । कलाकार गौतमले बाङ्देलको शालिकसहित हलेसीमा राख्नेगरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गेमूर्ति निःशुल्क हस्तान्तरण गरेका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच–छ वर्ष राखिएको बाङ्देलको शालिकलाई विसं २०७३ मा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्र्याक्टरमा बोकेर राखाबाङ्देल लगिएको थियो । दिक्तेलसम्म सालिक पु¥याउने क्रममा तत्कालीन जिल्ला विकास समितिले गौतमलाई रु ३० हजार भाडा दिएको जनाइएको छ । 

स्थापनामा चासो नदिइँदा दिक्तेलमा बेवारिसे बनेको कलाकार बाङ्देलको शालिक स्थापनाका लागि विसं २०७१ मा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बाङ्देल प्रतिमा स्थापना समिति गठन गरिएको थियो । नाछिरिङ राई समुदायका साहित्यकार बाङ्देकको शालिकलाई पुर्ख्यौली थलो राखाबाङ्देल लैजान सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्