काठमाडौं ५ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यि परियोजनादेखि सुपुर्दगी सन्धिका विषयमा छलफल हुने भएको छ ।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमणका एजेण्डा पारित गरेको हो । बैठकले भारत सरकारले भूकम्प पछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सहयोग गर्ने भनेर गरके प्रतिबद्धताबरे छलफल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
यसअघि सुशील कोइराला सरकारले गरेको दाता सम्मेलनमा पुननिर्माणका लागि भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सरकारले पुराना सन्धि सम्झौता पुनरावालोकन गर्ने तथा कोशी बाँध बनाउँदा दिने भनेको भारु ५० करोडको कुरा उठाउने निर्णय भएको मन्त्री बस्नेतले बताए ।
सरकारले दुई दशक अगाडि सम्झौता भएको पञ्चेश्वर बहुउद्देश्सीय परियोजना कार्यान्वयको बारेमा छलफलको बिषय बन्ने जनाएको छ । यस्तै सन् १९५० को सन्धिको बारेमा छलफल हुने मन्त्री बस्नेतले बताए ।
सरकारले भारतसँगको विबादास्पद सुपुर्दगी सन्धीको बारेमा समेत छलफल गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । यस अतिरिक्त नेपाल भारत रेल्वे र वाणिज्य व्यापारको बारेमा छलफल हुने मन्त्री बस्नेतले जनाए ।
समकक्षी नरेन्द्र मोदीको निमन्त्रणाका क्रममा प्रधानमन्त्री देउवा बुधवार भारतको राजधानी दिल्ली प्रस्थान गर्दैछन् ।