
काठमाडौं, ५ भदौ — बेलायती फूटबल क्लब म्यानचेस्टर सिटीले लियोनेल मेस्सीलाई भित्र्याउनका लागि ३० अर्ब रूपैयाँको प्रस्ताव गरेको छ ।

सिटीका अधिकारीहरूले मेस्सीका प्रतिनिधिहरूलाई भेटेर उनलाई क्लबमा ल्याउनका लागि कुराकानी गरेका छन् ।
यदि यो डील फाइनल भयो भने खेलाडीलाई किन्नका लागि खर्च गरिने सर्वाधिक ठूलो रकम हुनेछ । यसअघि म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पल पोग्बालाई किन्नका लागि १२ अर्ब २९ करोड रुपैयाँ खर्च गरेको थियो ।
हुन त मेस्सीलाई किन्ने चर्चा धेरैअघिदेखि नै बजारमा छ तर अहिले चाहिँ गम्भीर कुरा भइरहेको देखिन्छ ।
म्यानचेस्टर सिटी आफैंले इतिहासकै सबभन्दा ठूलो खेलाडी ट्रान्स्फर गर्ने हालै घोषणा गरेको थियो ।
अरू कुनै खेलाडीका लागि भन्दा पनि मेस्सीकै लागि क्लबले यति धेरै खर्च गर्न खोजेको धेरैले अनुमान गरेका छन् ।
नेयमार पनि पीएसजी गएको अवस्थामा मेस्सीलाई म्यानचेस्टर सिटीले लग्ला भनेर बार्सिलोनाका फ्यानहरू चिन्तामा परेका छन् ।
एजेन्सी