२२ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

गृहको लफडाले रास्वपा असन्तुष्ट, सरकारबाट बाहिरिएला ?

गृहको लफडाले रास्वपा असन्तुष्ट, सरकारबाट बाहिरिएला ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सभापति रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ । गैरसांसदको रुपमा आफूलाई गृहमन्त्री बनाइनुपर्ने भन्दै रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दवाव दिँदै आएका छन् । 

ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिएपनि प्रचण्डले मानिरहेका छैनन् । प्रचण्डले लामिछानेको पासपोर्टसम्बन्धी विवाद कायमै रहेकाले सो विषयको समाधान नभएसम्म मन्त्री बनाउन नसकिने जवाफ फर्काएको बताइएको छ । नागरिकता पाएको भोलिपल्टै फेरि गृहमन्त्री बन्ने ध्याउन्नका साथ अघि बढेका लामिछानेलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि साझेदार दलबीचनै खटपटको अवस्था देखिएको छ । ओलीले समेत रविलाई सरकारमा फिर्ता ल्याउन प्रचण्डलाई भेटेरै आग्रह गरिसकेपनि सकारात्मक महोल बन्न नसकेको हो । 

पार्टीको निर्णय नै गृह मन्त्रालयमा निःशर्त फिर्ता भन्ने रहेपनि सत्ता साझेदार दलबाट उल्झन आएपछि रास्वपा चिढिन पुगेको छ । कतिपयले रास्वपाले सरकारबाट बाहिरिने तयारी गरेको आकलनसमेत गर्न थालेका छन् । हाल आन्तरिक छलफलमा रहेको रास्वपा अझै कुर्ने मनस्थितिमा देखिएको छ । सो पार्टीका एक नेताले आफूहरु आन्तरिक छलफलमा रहेको भन्दै गृहमन्त्रलय पाउने अवस्था नभए सरकारमा रहिरहनुको औचित्य नहुने बताए । यद्यपि पार्टी अहिले ‘पर्ख र हेर’ को नीतिमा रहेको उनको भनाइ छ । 
००००
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहियोस् भन्नेमा आफू भएको बताएका छन् ।  पदाधिकारी बैठकपछि निस्कने क्रमममा सञ्चारकर्मीसँग प्रचण्डले आफूहरू सल्लाहमै भएको र गृह मन्त्रालय नपाए पनि सरकारबाट रास्वपा नबाहिरयोस् भन्नेमा आफूहरू रहेको बताए। 

‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म रास्वपा सरकारमा इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ,’ प्रचण्डले बैठकपछि भने, ‘गृह मन्त्रालय रास्वपालाई दिनुअघि अदालतको पूर्णपाठ कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’ त्यसअघि प्रचण्ड र लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको थियो भने प्रचण्डले सकारात्मक जवाफ नदिएपछि सो पार्टीले सरकारबाट बाहिरिने धम्कीसमेत दिएको बताइएको छ । उसो त माओवादीको पदाधिकारी बैठकमा समेत रविलाई गृहमन्त्री नबनाउँदा सही हुने धारणा नेताहरुले राखेका थिए ।
००००
एमालेका अध्यक्ष ओली र रवि लामिछानेबीच मंगलबार पनि भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । 
सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ ।
००००
रवि लामिछानेले त्यागिसकेको नागरिकताका आधारमा राहदानी लिएको भन्ने जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। 
राहदानी ऐनअनुसार कारबाहीको माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट पूर्णपाठ नआइसकेकाले प्रहरीले जाहेरी लिन नमानेको बुझिएको छ।  
००००
अर्थ मन्त्रालयले अनावश्यक खर्च नियन्त्रण गर्न निर्णय गरेसँगै राज्यको करिब २५ अर्ब जोगिने भएको छ । सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो । बजेट खर्च प्रणालीलाई पुनः प्राथमिकीकरण गरी राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने आयोजनामा खर्च बढाउने निर्णय मन्त्रालयले गरेको छ ।
००००
निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच यही प्रयोजनका लागि भेटघाट भएको हो ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्ने भएको छ । क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको एक पदाधिकारीले जानकारी दिए ।
यसैबीच महान्यायाधिवक्ता कार्यालय लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर गरी पाऊँ भन्दै महान्यायिवक्ताको कार्यालयले निवेदन दिएको हो।
००००
प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् ।
मंगलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
००००
श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाउने भएको छ। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा यस्तो बताएका हुन्।

सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिका लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गरे।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अंकले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यफ माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा सो पार्टीले २० वटा बुँदा समेटेर ध्यानाकर्षण गराएको हो।

salt training

कमेन्ट गर्नुहोस्