
भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदैछ । दाङको घोराही –५ महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरिँदैछ ।
भाषा आयोगका सदस्य अमर गिरीले कुसुन्डा भाषा संरक्षणका लागि समुदायस्तरबाट लाग्नुपर्ने बताए । लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि भाषा आयोगले कार्यक्रम ल्याएको उनको भनाइ छ । “भाषा कुनै जातिको मात्र होइन सबैको साझा हो, एउटा भाषा जीवित राख्नमा सम्बन्धित समुदाय पनि जागरुक हुनुपर्छ”, उनले भने ।
भाषा आयोगका सदस्य अमृत योञ्जनले भाषाभित्र व्यापक ज्ञान हुन्छ, भाषा संस्कार र संकृतिसँग जोडिएको बताए । कुसुन्डा भाषा नेपालमा मात्रै बोलिन्छ । पाठ्य सामग्री तयार गरेर बालबालिकालाई लेख्न लगाउनुपर्नेमा उनको जोड छ ।
कुसुन्डा भाषा सिकाउनुको उद्देश्यमाथि प्रकाश भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले कुसुन्डा भाषा लोपोन्मुख र सङ्कटोत्पन्न भाषा भएकाले ९० घण्टाको समय दिएर सिकाउने गरिएको बताए । उनले नेपालमा एक सय २३ भाषा बोलिन्छ, त्यसमध्ये कुुसुन्डा भाषा पनि एक रहेको बताए । यो भाषाको व्याकरण निर्माण गरेर पछिल्लो पुस्तालाई सिकाउनुपर्ने उनको सुझाव छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले भाषा संरक्षणमा नगरले सहयोग गर्न तयार रहेको बताए । शून्यमा झर्न लागेको कुसुन्डा भाषालाई पछिल्लो पुस्ताले घरपरिवार र साथीका बीचमा बढी प्रयोग गरेमा भाषा जीवित हुने उनको विश्वास छ ।
कुसुन्डा भाषाका अभियन्ता एवं पुस्तक लेखक उदयराज आलेले शून्यबाट सुरु गरिएको भाषा अहिले तेस्रो चरणको सिकाइ सकेर चौथो चरणको सिकाइमा प्रवेश गर्न सकेकामा खुसी व्यक्त गरे । महेन्द्र माविमा धर्नामा १२ र घोराही उपमहानगरपालिका –१८ सुपैलाखुटीमा १२ गरी २४ जनाले यो भाषालाई सिकिरहेको बताए । उनले पहिलो चरणमा औपचारिक रूपमा बोल्न सिकाइएको, दास्रो चरणमा लेख्न र पढ्न सिकाइएको र तेस्रो चरनमा व्याकरण सिकाइएको आलेले बताए । चौथो चरणमा भाषा जोगाउनलाई बोल्न सिकाउनुपर्छ भन्ने मान्यताले सिकाइ अगाडि बढाउने उनले बताए ।
नेपाल कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले अन्य जिल्लामा यो भाषा बोल्ने व्यक्ति नभएको बताए । दाङमा एक जना मात्रै वक्ता रहेको र पछिल्लो पुस्ताले यो भाषालाई जोगाइराख्नका लागि सिकाइले उपलब्धि भएको बताए । उनले कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा एक सय ६१ जनसङ्ख्या रहेको जनाए ।
कुसुन्डा भाषाका एकमात्रै वक्ता कमलासेन कुसुन्डाले ज्ञानीमायाको मृत्युपछि आफू एक्लै भएको बताए । आफूसँगै भाषा पनि मर्ने थियो भाषा आयोगले संरक्षण गरेर पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । रासस