
वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ ।
मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको जनाएको हो ।
ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा उनीहरुलाई राखिएको थियो ।
ब्यूरोको पहलमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, सामाजिक संस्था (हेल्प क्रस इण्डिया) र नेपालस्थित शान्ति पुनःस्थापना गृहको सहकार्यमा उनीहरुको उद्धार भएको हो ।
उनका अनुसार उद्धार गरिएका अधिकांश ३१ देखि ४० वर्ष उमेर समूहका विवाहित महिला छन् ।
कतिपय यसअघि वैदेशिक रोजगारमा गएर फर्किएका महिला छन् । नेपालबाट भारत लैजाने क्रममा जोगवनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायत नाका प्रयोग हुने गरेका छन् ।
ब्यूरोको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा बेचविखन तथा ओसापसार भएका दुई सय १४ महिलाको उद्धार गरिएको छ ।