काठमाडौं, ५ भदौ — चर्चित संविधान संशोधन दोस्रो विधेयक व्यवस्थापिका संसदबाट अस्वीकृत भएको छ । सोमबार सभामुख ओनसरी घर्तीले विधेयक निणयार्थ प्रस्तुत गर्दा दुई तिहाई पुग्न ४८ मत अपुग भएपछि संशोधन अस्विकृत भएको हो ।

संसदमा रहेका कूल ५९२ सांसद मध्ये संशोधनको पक्षमा ३४७ मात्रै मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो । संशोधन पास हुनको लागि ३९५ मत आवश्यक पथ्र्यो ।
संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र नेकपा मालेले मतदानमा भाग लिएनन् ।
संविधानमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमाङ्कन लगायतका विषयमा संशोधन प्रस्ताव पेश भएको थियो । विधेयकको दफाबार छलफलमा ५३ जना सांसदले भाग लिएका थिए । उक्त प्रस्ताव गत साउन ३२ गते सदनमा पेश गरिएको थियो । विधेयकमाथि ५० वटा संशोधन पेश भएका थिए ।
संशोधनको माग गर्दै आन्दोलनरत राजपा नेपालले विधेयक पास फेल जे भएपनि स्वीकार गरेर निर्वाचनमा जाने प्रतिबद्धता जनाएपछि सरकारले संशोधन प्रस्ताव भोटिङमा लगेको थियो ।