३१ जेठ २०८३, आइतबार

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

गहुँ सुक्न थालेपछि कृषक चिन्तित
प्रतिकात्मक तस्वीर

गत वर्ष यतिबेला खेत बारीमा लगाइएका गहुँ जौंले बाला हाल्न शुरू गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा व्यहोर्नुपरेन तर यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निराश बनेका छन् ।

लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । त्यसै त जिल्लामा गहुँ उत्पादन कम हुन्छ । त्यसमाथि वर्षा नहुँदा सुक्न थालेपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिँदै आएको छ । 

गहुँ लगाउँदादेखि नै रोकिएको वर्षा अहिलेसम्म नहुँदा गहुँ पसाउने बेलामा सुक्न थालेको गलकोट नगरपालिका–५ का इन्द्रबहादुर खत्रीले बताए । उनले बारीको मकै स्याहारेर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउसमेत उत्पादन नहुने चिन्ता व्यक्त गरे ।

खत्री भन्छन्, ‘यतिका महिना बितिसक्यो, पानी पर्दैन, बादल धामलधोमल गर्दा पानी आउँछ कि भनेर आकाशतिर हेर्‍यो, पानी पर्ने छाँटकाँट देखिएन, खेतबारीमा लगाएको गहुँ सुक्न थाले, आउँदो बर्खा के खाने होला, गहुँले फल देलाजस्तो छैन, बीउ पनि उत्पादन हुन्न भन्ने चिन्ता छ, बीउ बचेन भने त गाह्रो हुन्छ ।’

गलकोट, जैमिनी, बागलुङ, निसीखोला, बरेङ लगायतका ठाउँमा राम्रो गहुँ उत्पादन हुन्छ । ढोरपाटन, तमान र ताराखोलामा जौं उत्पादन हुन्छ । जैमिनीका कृष्णप्रसाद शर्माले करीब ८ रोपनी खेत तथा बारीमा गहुँ लगाएको सुनाउँदै सिँचाइ गर्न नसक्दा सुक्दै गएको बताए । शर्माले पाखोबारीमा बढी गहुँ लगाएको भन्दै पाइपबाट पानी लगाउन सम्भव नभएको सुनाए ।

‘खेतमा अलिअलि कुलोबाट पानी ल्याएर लगाइयो, पाखो बारीमा लगाएको गहुँ सुकेर मर्न थालिसक्यो, पोहोरपरार पानी पथ्र्यो, बाली राम्रै हुन्थ्यो, यसपालि खै धेरै समय भयो पानी परेकै छैन,’ शर्माले भने, ‘पाटामा लगाएको गहुँमा पाइपबाट पानी लगाउँ भने सम्भव छैन, अब १ सातासम्म पानी नपरेर यस्तै घाम लागि रह्यो भने गहुँ सबै सुक्छ ।’

बागलुङमा कूल ७ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यस वर्ष समयमा पानी नपर्दा गहुँ उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र बागलुङको आकलन छ । केन्द्रका सूचना अधिकारी कुमार पुन सिँचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गर्दै आएको बताउँछन् ।

पुन भन्छन्, ‘कृषकले गहुँ लगाएपछि लामो समय खडेरी पर्‍यो, सामान्यतया गहुँ लगाएको २/३ हप्तामा राम्रो सिँचाइको आवश्यकता हुन्छ तर यस वर्ष त्यो हुन सकेन, यसले गहुँ उत्पादनमा धेरै गिरावट आउने देखिएको छ ।’

जिल्लामा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरि जातको गहुँ लगाइन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ४६ हजार एकसय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । त्यसमध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सहज छ । 

खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा सिँचाइको सुविधा छ । त्यसमध्ये १२ महिना सिञ्चित क्षेत्र २ हजार ७७५ हेक्टर छ । पछिल्लो समय बसाइँसराइँले खेतीयोग्य जमिन समेत बाँझिदै गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्