काठमाडौँ, ६ भदौ- त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. करविरनाथ योगीको संयोजकत्वमा गठित समितिले सम्बन्धनकै लागि प्रस्तावित कलेजमा नभएका पूर्वाधार र सुविधासमेत रहेको उल्लेख गरी झूटो प्रतिवेदन तयार गरेको हो, कान्तिपुरमा खबर छ । यही झूटो विवरणका आधारमा त्रिविले साउन १२ मा सम्बन्धन दिएको हो ।

त्रिविले डा. योगी संयोजकत्वमा ६ सदस्यीय निरीक्षण टोली गठन गरेको थियो । टोलीले २०७० कात्तिक २५ र २६ गते निरीक्षण गरी २७ गते बुझाएको प्रतिवेदनमा अस्पताल तथा मेडिकल कलेजमा सबै सुविधा रहेको उल्लेख छ । आईओएमले नै निरीक्षण टोली खटाउनुपर्नेमा तत्कालीन विवादित उपकुलपति हीराबहादुर महर्जनले नै अधिकार केन्द्रीकृत गरी केन्द्रीय कार्यालयबाट निरीक्षण टोली गठन गरी खटाएका थिए । ‘उक्त प्रतिवेदन सफेद झूटको प्रमाण हो,’ आईओएम उच्च स्रोतले भन्यो ।
प्रतिवेदनका कुरा
१. दस किमिभित्र २ ठाउँमा
सय रोपनी
२. बेसिक साइन्समा ७ र क्लिनिकल साइन्समा
१४ विभाग
३. विद्यार्थीका लागि घर भाडामा लिएको
४. पैंसठ्ठीभन्दा बढी प्राध्यापक कार्यरत
५. दुई सयको हाराहारीमा बिरामी अस्पताल पुग्छन्
६. परिसरभित्रै फार्मेसी
वास्तविकता
१. घट्टेकुलोबाट १४ किमि टाढा लामाटारमा जग्गा
२. कुनै विभाग छैनन्
३. वरपर कुनै घर कलेजले भाडामा लिएको छैन
४. एक मेडिकल अफिसर बाहेक कोही डाक्टर छैनन्
५. अस्पताल सुनसान हुन्छ, पाँच बजेपछि बन्द हुन्छ
६. फार्मेसी नै छैन