बंगलादेशमा आइतवार १४ वटा हिन्दू मन्दिरमा आक्रमण गरी २७ वटा मूर्ति भत्काइएको छ ।
बलियाडांगीको ठाकुरगाँवमा यो घटना भएको हो ।
विगत पाँच महिनामा यसरी अल्पसंख्यक हिन्दू समुदायको पूजास्थलमा आक्रमण गरिएको यो दोस्रो घटना हो ।
स्थानीय अधिकारी विपुल कुमारका अनुसार, तोडफोड गरिएका केही मन्दिर सडकको किनारमै थिए । आक्रमणपछि ती मन्दिरको हालत एकदमै खराब छ ।
शनिवार राति र आइतवार बिहानको बीचको समयमा आक्रमणहरू भएका हुन् ।
उपद्रो गर्नेहरूले मूर्तिको हात, गोडा र शिर फुटाइदिएको बताइएको छ । केही मूर्ति भत्काएपछि नजिकैको तलाउमा फ्याँकिएको थियो । घटनाको विशेष अनुसन्धान गरी आरोपितहरूलाई छिट्टै पक्राउ गर्न हिन्दूहरूले स्थानीय अधिकारीलाई माग गरेका छन् ।
मन्दिरमाथिको आक्रमणपछि स्थानीय हिन्दू समुदाय डराएको छ ।
सन् २०२२ को अक्टोबर ७ मा पनि काली मन्दिरमा पसेर उग्रवादीहरूले मूर्ति भत्काएका थिए । बेलायती उपनिवेशकालमा बनेको यो मन्दिर झेनैदाह जिल्लाको दौतिया गाउँमा छ ।