
विराटनगरमा डेरा गरी बस्दै आएकी १ युवतीको मृत्यु प्रकरण रहस्यमयी बन्दै गएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भई विराटनगरमा बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको मृत्यु रहस्यमयी भएको हो । खड्काको माघ १८ राति मृत्यु भएको थियो ।
राति ९ः१५ बजे विराटनगरस्थित कोशी अस्पतालमा ल्याइपुर्याउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेका थिए । एलिसाको घाँटीमा निलो डाम भएका कारणले उनको मृत्यु रहस्यमयी रहेको प्रहरीको आशंका छ ।
घटना रहस्यमयी रहेका कारणले प्रहरीले हस्पिटल पुर्याउने साथी विराटनगर–१२ घर भएकी २७ वर्षीया लक्ष्मी राजवंशीलाई पक्राउ गरेको छ । पक्राउ परेका राजवंशी र मृतक खड्का साथी हुन् । उनीहरू लागूऔषध प्रयोगकर्ता पनि रहेको प्रहरीले जनाएको छ ।
माघ १८ गते राति खड्का राजवंशीको घर गएकी थिइन् । उनको घर विराटनगर–१२ मा छ । ‘एलिसा बेहोस भएको भन्दै लक्ष्मीले कोशी अस्पतालमा लगेकी थिइन् । अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले बताए । उनका अनुसार पक्राउ परेकी राजवंशीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।
पोस्टमार्टम रिपोर्ट र अनुसन्धानले हत्या भएको देखिए कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गर्ने प्रहरीको तयारी छ ।
मृतक खड्का धरान घर भए पनि लामो समयदेखि विराटनगरमा बस्दै आएकी थिइन् । उनी लक्ष्मीसँगै होटलमा काम गर्ने गरेकी थिइन् ।