२४ जेठ २०८३, आइतबार
विमान दुर्घटना

यती विमान दुर्घटनाको प्रारम्भिक कारण– दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गयो !

माघ २३, २०७९
यती विमान दुर्घटनाको प्रारम्भिक कारण– दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गयो !

पोखरामा भएको यती एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको जानकारी दिएको हो ।

आयोगले प्रारम्भिक जानकारीसहितको विज्ञप्ति जारी गर्दै भनेको छ, 'फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N ANC जहाज अवतरण गर्ने क्रममा बेस लेग (Base Leg)मा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ,' आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अत: उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी यस आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'

सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा​ इन्जिन चलिरहेको भए पनि पंखाको एंगल नमिलेका कारण दुर्घटना भएको देखिएको जाँचबुझ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराजजंग थापाले बताए ।

'इन्जिन चलिरहेको भए पनि अवतरणका क्रममा पंखाको ब्लेड एंगल नमिलेको जस्तो देखियो । के कारणले एंगल मिलेन भन्ने विषयमा छानबिन हुन बाँकी छ,' थापाले भने, 'मानवीय त्रुटिका कारण त्यस्तो भयो कि प्राविधिक त्रुटिका कारण भन्ने विषयमा अनुसन्धान गर्न बाँकी छ ।'

यही माघ १ गते यती एयरको एटीआर विमान पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । 

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्