
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मंगलवारदेखि सञ्चालन हुने धार्मिक कार्यक्रम (रामकथा) का लागि भारतका हिन्दू आध्यात्मिक प्रवचक मोरारी बापू सोमवार दिउँसो लुम्बिनी आइपुगेका छन् ।
बापू भारतको गुजरातस्थित भावनगरबाट आफ्ना अन्य ३ जना सहयोगीका साथमा चार्टर्ड विमान गरी लुम्बिनी आइपुगेका हुन् । उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम आयोजक लगायत ठूलो समूहले स्वागत गरेका छन् ।
रामकथा प्रेम यज्ञ समिति लुम्बिनी नेपालले मंगलवारदेखि ९ दिनसम्म बापूको ‘रामकथा’ कार्यक्रमको आयोजना गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलमा कार्यक्रमको आयोजना गरिएको हो । उनलाई पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि भैरहवामा स्वागत गरेका थिए ।
रामकथाको विषयलाई लिएर बौद्ध धर्मालम्बीले गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।
रामकथाका लागि विकास कोषले ५ हजार क्षमताको हल प्रयोग गर्न दिएको छ । कथा वाचन कार्यक्रममा विश्वका विभिन्न देशबाट बापूका अनुयायी २ हजारभन्दा बढी सहभागी हुने बताइको छ । कार्यक्रम १ हप्ताको रहेको छ ।
कार्यक्रममा लागि १७० देशबाट सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क भण्डारा चलाइएको छ । कार्यक्रमले लुम्बिनी क्षेत्रको होटल व्यवसायसँगै स्थानीय व्यापार पनि फस्टाउने लुम्बिनी होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीको भनाइ छ ।
