२१ जेठ २०८३, बिहीबार
चलचित्र चर्चा

किन अपेक्षाकृत चलेन ‘ह्यारीकी प्यारी’ ? निर्देशक भन्छन्– ‘त्यही कारण खोज्दैछु’

माघ २४, २०७९
किन अपेक्षाकृत चलेन ‘ह्यारीकी प्यारी’ ? निर्देशक भन्छन्– ‘त्यही कारण खोज्दैछु’

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारीकी प्यारी’ यतिबेला देशभरका हलमा प्रदर्शनरत छ । 

गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्रले अपेक्षित दर्शक पाउन भने सकिरहेको छैन । 

प्रदर्शनको पहिलो दिन (शुक्रवार) चलचित्रको देशव्यापी अकुपेन्सी निकै कम रह्यो । 

दोस्रो दिन शनिवार चलचित्र हेर्न दर्शकको उपस्थिति केही उत्साहजनक देखियो । तर, त्यो निर्माण टीमको अपेक्षा अनुसारको भने थिएन । 

आइतवार र सोमवार पनि हलमा दर्शकको उपस्थिति अपेक्षाअनुसार भएन । 

यद्यपि, ‘महापुरुष’यता प्रदर्शनमा आएका अन्य नेपाली चलचित्रमा भन्दा ‘ह्यारीकी प्यारी’मा दर्शकहरूको उपस्थिति केही बढी भने रहेको हल सञ्चालकहरू बताउँछन् । 

मंगलवार पाँचौं दिनमा प्रदर्शनरत चलचित्रको ग्रस कलेक्सन  निर्माण टीमले सार्वजनिक गरिसकेको छैन ।

प्रचारप्रसार र प्रिमियरमा सबैबाट पाएको तारिफले चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टीमको थियो । 

जितुले सोलो रूपमा लीड हिरोको भूमिका निर्वाह गरेको पहिलो चलचित्र भएका कारण पनि ‘ह्यारीकी प्यारी’ चर्चामा थियो । 

चलचित्रका लेखक एवं निर्देशक डा. कपिल रिजालले चलचित्रले राम्रो हाइप बनाएको महसूस भएपनि अपेक्षाअनुसार दर्शक तान्न भने नसकिरहेको स्वीकारे । 

उनले चलचित्र हेरेका दर्शकहरूबाट एकदमै राम्रो प्रतिक्रिया पाएपनि अपेक्षाअनुसार दर्शक नआएको बताए । 

‘शनिवार राम्रो भएको थियो । सोमबार पनि केही हलहरू हाउसफूल थिए । आज पनि केही हलहरूमा दर्शकहरूको उपस्थिति राम्रै देखिएको छ,’ डा. रिजालले लोकान्तरसँग भने, ‘यद्यपि, जुन हिसाबले पिकअप लिनुपर्ने हो, त्यो अनुसार भइरहेको छैन ।’ 

चलचित्रले अपेक्षित दर्शक पाउन नसकेपछि अहिले आफूले त्यसको कारण खोजिरहेको निर्देशक डा. रिजाल बताउँछन् ।

‘मेरो चलचित्र दुई दिनअघि सकिएर हतारहतार प्रदर्शनमा ल्याएको होइन । चलचित्रको सम्पूर्ण काम सकेपछि आठ/दश जनाको टीम बसेर, हेरेर, उहाँहरूले ठीक छ भनेपछि देखाएको हो,’ उनले अगाडि भने, ‘हामीलाई त राम्रो होला भन्ने लागेको थियो । अहिले म अपेक्षाअनुसार किन चलेन भनेर एउटा हलबाट अर्को हल, यताउता गरिरहेको छु ।’ 

उनले चलचित्र अपेक्षित नचल्नुको कारण पत्ता लगाउने प्रयासमा आफू रहेको बताए । 

‘हामीले हाम्रो प्रोडक्टमा विश्वास भएपछि ल्याएका हौं । अब, किन अपेक्षाअनुसार भएन, त्यो राम्रो समीक्षकहरूबाट आओस् भन्ने छ,’ उनले भने । 

१० दिनपछि दुबईमा चलचित्रको ग्राण्ड प्रिमियर हुँदैछ । दार्जिलिङ, कालिङपोङ लगायतमा पनि प्रिमियरका लागि तयारी भइरहेको छ । 

‘ह्यारीकी प्यारी’का निर्देशक कपिल रिजाल वरिष्ठ डा. भोला रिजालका छोरा हुन् । पेशाले दन्त चिकित्सक रहेका उनको यो निर्देशकीय पहिलो चलचित्र हो । 

भोला रिजाल यस चलचित्रको निर्माताका रूपमा छन् । चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय छ । फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा यस चलचित्रले पेश गरेको छ ।

डा. कपिल रिजालले आगामी दिनमा पनि आफूले चलचित्र निर्माण एवं निर्देशनलाई निरन्तरता दिने बताए । उनले नयाँ चलचित्रका लागि कथा फाइनल भइसकेको र अहिले स्क्रिप्टमा काम भइरहेको समेत खुलासा गरे ।

salt training

कमेन्ट गर्नुहोस्