टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन्।
खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए।
एर्दोगानले दक्षिणी टर्कीमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताएका छन्। यद्यपि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने ४ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको जनाएका छन्। हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएका राष्ट्रपतिले बताए।
विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भूकम्पबाट थुप्रैको मृत्यु भएको छ।
स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियनटेपमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प र ६ दशमलव २ रेक्टर स्केलको भूकम्प भएको थियो।
एर्दोगानले सोमबार सातदिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।