
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची तोकिएको बुधवारको प्रदेशसभा बैठक सरेको छ ।
बुधवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सरकारको आग्रहमा सूचना टाँस गरेर सारिएको हो ।
मुख्यमन्त्रीलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू काठमाडौंमा रहेकाले बैठक सारिएको स्रोतले जनाएको छ । उन्मुक्तिले विश्वासको मत दिन आनाकानी गरिरहेको छ ।
भोलि बिहीवार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने जनाइएको छ । उन्मुक्तिले विश्वासको मत नदिएको अवस्थामा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ । मुख्यमन्त्री रावलले उन्मुक्ति पार्टीलाई फकाउन प्रयास गरिरहेका छन् ।