
आतंकवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् ।
गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् ।
गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतंककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
कारबाहीका क्रममा आतंकरीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ ।
कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतंकवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो ।
अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतंकवादी गतिविधि गरिरहेको छ ।
विभिन्न इस्लामिक सशस्त्र लडाकु समूहसँग आबद्ध तेहरिक–ए–तालिबानले निर्दोष नागरिक र भौतिक सम्पत्तिमाथि हमला गर्दै आएको छ ।