०७ असार २०८३, आइतबार

प्रधानमन्त्री देउवा बुधवार दिल्ली आउँदै, मोदीसँग एक्ला– एक्लै वार्ता

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवा बुधवार दिल्ली आउँदै, मोदीसँग एक्ला– एक्लै वार्ता
नयाँ दिल्ली, ६ भदौ – समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार भारतको राजधानी नयाँ दिल्ली आउँदैछन् । प्रधानमन्त्री देउवाको भ्रमणको तयारी पूरा भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
नयाँ दिल्ली स्थित दिल्ली गेटमा प्रधानमन्त्रीको स्वागतमा राखिएको नेपाली झण्डा ।


प्रधानमन्त्री देउवालाई बुधवार मध्यान्ह भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी भएको उच्च स्रोतले बतायो । विमानस्थलबाट देउवा सीधै भारतीय राष्ट्रपति भवनमा जानेछन् । भ्रमण अवधिभर देउवा राष्ट्रपति भवनमा बस्नेछन् ।

सम्मान स्वरुप भारतले पछिल्ला बर्षमा नेपालका प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा बसाल्दै आएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि राष्ट्रपति भवनमै राखिएको थियो । प्रधानमन्त्री देउवाले बुधवार केही अनौपचारिक भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाको महत्वपूर्ण भेटवार्ता बिहीवार हुनेछ । भदौ ८ मा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकैया नायडुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही विहान देउवालाई राष्ट्रपति भवनमा विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ ।

भेट लगत्तै देउवाको सम्मानमा मोदीले प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा दिवाभोज आयोजना गर्ने भारतस्थित नेपाली दूतावासले जनाएको छ । मोदीले देउवासंग एक्ला एक्लै वार्ता गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा बहुचर्चित पञ्चेश्वर आयोजना कार्यान्वयन देखि सुपुर्दगी सन्धीको बारेमा समेत छलफल हुने नेपाल सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सन् १९५० को सन्धीको पुनरावलोकन लगायतका बिषयमा छलफल गर्ने र कोशी बाँध बनाउँदा भारत सरकारले दिने भनेको भारु ५० करोडको कुरा उठाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो ।

सरकारले भूकम्प पछिको पुनर्निर्माणका लागि भारत सरकारले पुनर्निर्माण प्राधिकरणलाई सहयोग गर्ने भनेर गरकोे प्रतिबद्धता बारे समेत छलफल गर्ने बैठकले निर्णय गरेको थियो । यस अतिरिक्त नेपाल भारत रेल्वे र वाणिज्य व्यापारको बारेमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

भारत–चीन सीमा विबादबारे नेपाल मौन बस्ने

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारत–चीनबीच दोक्लाममा देखिएको सीमा बिवादबारे नेपाल मौन बस्ने भएको छ । परराष्ट्र मन्त्रालयले दुईदेशबीचको बिवादमा नेपाल तटस्थ बस्ने धारणा सार्वजनिक गरिसकेको छ ।
भारतका कतिपय नेताहरुले दोक्लाम बिवादबारे नेपालले भारतको पक्ष लिनुपर्ने बताइरहेको समयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो बिषय नउठने भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् ।

‘द टाइम्स अफ इण्डिया’ले देउवाको भारत भ्रमणका क्रममा सीमा बिवाद बारे कुरा नउठाउने आशयको समाचार लेखेको छ । समाचारमा नेपालका प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्ताबारे बेइजिङले नजिकबाट नियाली रहेको उल्लेख गरिएको छ । समाचारमा चिनियाँ उपप्रधानमन्त्री योङ याङको हालैको नेपाल भ्रमणको प्रसंग कोट्याइएको छ ।

‘द टाइम्स अफ इण्डिया’ले मंगलवार प्रधानमन्त्री देउवाको भ्रमण सम्बन्धी दुईवटा छुट्टा छुट्टै समाचार प्रकाशित गरेको छ । दोस्रो समाचारमा प्रधानमन्त्रीको भ्रमणको फोकस निर्माणाधीन आयोजना गर्नमा दुवै देशको जोड रहने उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्