स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाई सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए ।
विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाई सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन् । बसाई सरेर अन्यत्र जानेको तुलनामा अन्यत्रबाट बसाई सरेर आउने पनि छन् । बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या बर्सेनि बढ्दोक्रममा रहेको छ । गत वर्ष एक सय १६ घरधुरीका चार सय ३७ जना र २०७९ को हालसम्म दुई सय ९४ घरधुरीका एक हजार एक सय १६ जना बसाई सरी आएको तथ्याङ्क रहेको उनले बताए ।
चौध वटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुनेक्रम बढ्दो छ । केही वडा ग्रामीण र विकट छन् । ग्रामीण भेगका वडाबाट बजारतिर बसाई सर्नेक्रम बढ्दैगएको छ । बजारबाट अझै ठूला शहरमा बसाइँसराइ गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।
यसवर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट एक सय ४३ घरधुरीका पाँच सय ७९, वडा नं १४ बाट एक सय ३६ घरधुरीका चार सय ९९ जना बसाई सरेर गए । यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाई सरे । विसं २०७८ मा वडा नं। १४ का ३८ र १२ का ३६ घरधुरी बसाई सरेर गए । १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाई सरेका उनले जानकारी दिए ।
स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउनेक्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टि ध्यान दिनुपर्ने धारणा उनको छ ।
“यहाँको विकासका लागि पनि जनसङ्ख्या आवश्यक पर्छ”, उनले भने, “स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसाय, लगानी गर्ने वातावरण बनाई छिमेकी पालिकालाई पनि आकर्षित गर्दै अगाडि बढ्नु आवश्यक छ ।” वालिङबाट विभिन्न कारणले मानिस अन्यत्र बसाई सरेर जानुलाई आफूले गम्भीर ढङ्गले लिएको नगर प्रमुख कृष्ण खाँणले बताए ।
बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै छन् उतै बसाई जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाई सरेर जानेगरेका छन् । रासस