
फागुन २ गते मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ । स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दैआएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
कोरोना महामारीका कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९” नामबाट आयोजना हुन लागेको हो ।
मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मिहनेत, सृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने रहेको छ ।
हाम्रोजस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको भएपनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन नसकेको आयोजकको भनाइ छ ।
हाम्रा युवा पुस्ता उद्योगप्रति आकर्षित हुन नसकिरहेको उद्योगीको बुझाई छ । यस पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दैआएको छ् ।
विगत केही बर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको मेला संयोजक शोभा गुरुङले बताए । मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने मेला संयोजक गुरुङले बताए ।
नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको छ । अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकलाई सचेत गराउने र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
प्रदर्शनीमा नेपालका सवै प्रदेश र जिल्लाका उद्यमीहरू, प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने जनाइएको छ । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र २ लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । रु ७ करोडभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले बताए ।