१० असार २०८३, बुधबार
राष्ट्रिय गौरवको आयोजना

पश्चिम नेपालका दुर्गम बस्तीको ‘लाइफलाइन’ बन्दै कालीगण्डकी कोरिडोर, धमाधम काम

माघ २९, २०७९
पश्चिम नेपालका दुर्गम बस्तीको ‘लाइफलाइन’ बन्दै कालीगण्डकी कोरिडोर, धमाधम काम

दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोर पहाडी जिल्लाका लागि कोशेढुंगा बनेको छ । राष्ट्रिय गौरवको यो आयोजनाले धेरै ग्रामीण एरियालाई जोड्दै उत्तर–दक्षिण छोएको छ । 

कालीगण्डकी नदीको किनारैकिनार बनेको यस राजमार्गले पूर्वी नवलपरासीका ग्रामीण बस्ती, पाल्पाको पश्चिम क्षेत्र तथा बाग्लुङ र पर्वतका दुर्गम गाउँहरूलाई शहरसँग जोडेको छ । 

सदरमुकामबाट टाढा रहेका दुर्गम बस्तीलाई राष्ट्रिय राजमार्गले जोडेपछि गाउँको परिचय बदलिएको कालीगण्डकी गाउँपालिका गुल्मीका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् । 

आर्थिक वर्ष वि.स. २०६७/२०६८ बाट निर्माण शुरू भएको आयोजनाको सबै ‘ट्रयाक’ खोलिएर कालोपत्रेको गर्ने काम तीव्र गतिमा भइरहेको छ ।

नेपाल–भारत  बेलहिया (सुनौली) नाकादेखि मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले शुरू गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी कोरिडोर ४३५ किलोमिटर लामो छ ।

कालीगण्डकी कोरिडोर (गैडाकोट, राम्दी मालढुंगा) सडक आयोजनाका इन्जिनीयर तथा सूचना अधिकारी पवित्रमणि आचार्यले पहिलो खण्डको २४० किलोमिटरमध्ये ११३ किलोमिटर कालोपत्रे भइसकेको बताए ।

पूर्व नवलपरासीको गैँडाकोटदेखि बाग्लुङको मालढुंगा तल्लो खण्ड २४० किलोमिटर छ । त्यस्तै मालढुंगादेखि मुस्ताङको चीन जोड्ने कोरला नाकाको दूरी १९५ किलोमिटर छ ।

‘तल्लो खण्डको सडक कालोपत्रेको काम तीव्र गतिमा भइरहेको छ,’ सूचना अधिकारी आचार्यले लोकान्तरसँग भने, ‘राम्दीदेखि रानीमहलसम्म स्तरोन्नतिको काम बाँकी छ । अरू गैँडाकोटदेखि पाल्पाको पिपलडाँडासम्म कालोपत्रे सकिएको छ । यो खण्ड १३२ किलोमिटरमध्ये २० किलोमिटर मात्र ‘पिच’ गर्न बाँकी छ ।’ 

यो सडक भारत सरकारको एग्जिम डेभलपमेन्ट बैंकको ऋण सहयोगमा भारतीय निर्माण कम्पनी ई.के.ए. ले निर्माण गरिरहेको छ ।

त्यस्तै रानीमहल–अर्गली खण्ड पनि कालोपत्रेको तयारी छ । रिडी, रूद्रबेनी हुँदै हर्मीचौरको कालोपत्रेका लागि आउँदो असारसम्मको समय छ ।

हर्मीचौरदेखि बाग्लुङको बलेवासम्म ५२ किलोमिटर कालोपत्रेका लागि कालिका कन्स्ट्रक्सनलाई ३ अर्ब रूपैयाँमा ठेक्का दिइएको छ । बलेवादेखि मालढुंगासम्म १० किलोमिटर ४७ करोडमा कालोपत्रे गर्नका लागि सम्झौता भएको इन्जिनीयर आचार्यले बताए । 

इन्जिनीयर आचार्यले थपे, ‘बुटवलबाट अब बाग्लुङ सदरमुकाम १५० किलोमिटर दूरीमा खुम्चिएको छ । नारायणगढ, मुग्लिन, पोखरा हुँदै बाग्लुङ जान दैनिक ८ देखि १० घण्टाको यात्रा अब ४ घण्टामा छोटिँदै छ । यो सडक निर्माण पूरा भएसँगै देशको मुहार फेर्ने देखिन्छ ।’

मालढुंगा, बेनी, जोमसोम हुँदै कोरला १९५ किलोमिटरको सडक ट्रयाक विस्तारको काम तीब्र गतिमा भइरहेको छ । कालीगण्डकी कोरिडोर (बेनी, जोमसोम कोरला) सडक आयोजनाका इन्जिनीयर सूचना अधिकारी मन्दा पन्थले मालढुंगा–बेनी, बेनी–जोमसोम र जोमसोम–कोरला क्षेत्रमा खण्ड–खण्ड बनाएर काम भइरहेको बताइन् । 

मालढुंगा–बेनी २० किलोमिटर, बेनी–जोमसोम ७४ र जोमसोम–कोरला ११५ किलोमिटर छ । ‘कागबेनी जोमसोम धार्मिक पर्यटकलाई लक्षित गरेर यसै वर्ष कालोपत्रे गरिँदै छ,’ पन्थले भनिन्, ‘अन्य खण्डहरूको आउँदो असारदेखि कालोपत्रे हुँदैछ । अहिले सबै ठाउँमा स्तरोन्नतिको काम भइरहेको छ । म्याग्दी र मुस्ताङका जिल्लामा अहिले मौसम चिसो छ । सोचेजस्तोे अझै हुन सकेको छैन । अब चैतबाट कामले तीव्रता पाउँछ,’ इन्जिनीयर पन्थले थपिन् । 

माथिल्लो खण्ड बेनी तातोपानी, तातोपानी घाँसा, घाँसा कागबेनी, कागबेनी हुँदै जोमसोम खण्ड–खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । यो १९५ मिटर खण्डको कूललागत ६ अर्ब रूपैयाँ भन्दा बढी छ । कोरिडोर ११ मिटर चौँडाइको हुन्छ । त्यसमध्ये ७ मिटर कालोपत्रे र दायाँ–बायाँ एक–एक मिटर किनारा तथा एक मिटरको नाली निर्माण गरिएको छ । 

कोरिडोरका लागि सरकारले बजेटको सुनिश्चिता गर्न नसक्नु, प्रत्येक वर्ष बजेट कटौतीको चपेटामा पर्दा लक्ष्य अनुरूप काम हुन सकेको छैन । 

कोरिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ । कोरिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठूलो सहयोग पुर्‍याएको छ । 

‘एक दशक अगाडिसम्म सडक सञ्जालले जोड्न नसक्दा गाउँबाट ठूलो संख्यामा सुविधा सम्पन्न शहर बजारमा बसाईंसराई गर्ने क्रम थियो,’ बाग्लुङको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले भने, ‘जब कोरिडोरको ट्रयाक खुल्यो, तब बसाईं सरेर केही मात्रामा भए पनि रोकिएसँगै धेरै आयामहरूको परिवर्तन ल्याएको छ ।’

कोरिडोरका कारण जनताको जीवनस्तरमा परिवर्तन आएको छ । व्यापार व्यवसायदेखि कृषि उत्पादनमा समेत वृद्धि भएको छ । किसानको उत्पादन गाउँदेखि शहरसम्म पुर्‍याउन सकिएको उपाध्यक्ष दर्लामी बताउँछिन् । 

‘कोरिडोर आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको त्रिदेशीय पारबहन मार्ग बनेको छ,’ अध्यक्ष पुन भन्छन्, ‘देशकै भाग्यरेखा बन्ने परियोजना भएकाले सरकारले प्राथमिकतामा राखेर बाँकी काम तीव्रताका साथ अगाडि बढाइएको छ । अहिले हामी बिहान घरबाट बुटवल गएर साँझ गाउँ आउन सक्ने भएका छौं ।’  

चिनियाँ बौद्ध धर्मावलम्बीहरू बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी तथा भारतको पटना यही मार्ग भएर पुगेको विश्वास गरिन्छ । भारतीय व्यवसायी कालीगण्डकीको किनारैकिनार चीनको कोरला पुग्ने गर्थे ।

कालीगण्डकीको किनारैकिनार निर्माणाधीन कोरिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । गरीबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्‍याउने अवधारणाअनुसार ११ वर्ष अगाडिदेखि निर्माणकार्य शुरू भएको कोरिडोरमा नेपाली सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरेका थिए ।  

कोरिडोर निर्माण र स्तरोन्नतिसँगै गुल्मीको पूर्वी क्षेत्र र बागलुङको पश्चिमी क्षेत्रस्थित कालीगण्डकी किनारका दुर्गम गाउँ सुगम बन्दै बजार र व्यापारिक केन्द्रमा परिणत भएको गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीय डण्डपानी सापकोटाले बताए ।

‘दुर्गम र विकट बस्तीमा पनि यातायातको सहज पहुँच पुगेको छ,’ उनी भन्छन्, ‘व्यापारिक महत्त्वसँगै कोरिडोरले सांस्कृतिक र तटीय क्षेत्रको वातावरणीय सुन्दरता र पर्यटकीय क्षेत्रको विकासमा पनि योगदान पुगेको छ ।’ यो सडक निर्माण शुरू गर्दा २१ अर्ब रूपैयाँ लागत अनुमान गरिएको थियो । 

भारतबाट रोजगारी गरेर बाग्लुङ, पर्वत, गुल्मी, म्याग्दी र मुस्ताङसम्म नेपालीहरू यहीँबाट प्रयोग गर्छन् । अहिले बुटवलबाट बाग्लुङको जैमिनी, बेलबगर, गुल्मीको कालीगण्डकीको फोक्सिङ, छापचौरलगायत ग्रामीण ठाउँमा यात्रुबाहक ठूला गाडीहरू छुट्ने गर्छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्