१३ असार २०८३, शनिबार

खानेकुरा खोज्दै बाँदर राजमार्गमा आउन थालेपछि बढ्यो दुर्घटना जोखिम

माघ २९, २०७९
खानेकुरा खोज्दै बाँदर राजमार्गमा आउन थालेपछि बढ्यो दुर्घटना जोखिम

पूर्वपश्चिम राजमार्गको पथलैयादेखि बर्दिबाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् ।

जंगलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा निस्किन थालेका छन्। 

मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । 

राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, भुजालगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल  खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् ।

वनमा जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निहुुरो, तरुल, फलफूलजस्ता कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तीमा बाँदर आउन थालेका सर्लाहीको फूलजोर बाबा सामुदायिक वन समूहका अध्यक्ष पशुपति खड्काले बताए।

उनका अनुसार जंगलमा सहज रूपमा खानेकुरा पाउन छाडिएको र राजमार्गमा मानिसले खानेकुरा दिन थालेपछि बाँदरले जंगलमा खानेकुरा खोज्न छोडेर राजमार्ग कुर्न थालेका हुन् । 'बाँदरका लागि वनमा पर्याप्त खानेकुरा भए पनि बाँदर खोज्न जाँदैनन्', डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मन्जुर अहमदले बताए। 

 उनका अनुसार मानिसले राजमार्गमा बाँदरलाई खानेकुरा दिँदा बाँदरका साथै केही सवारीसाधन पनि दुर्घटनामा पर्ने गरेका छन् ।

करिब ५० वर्ष पहिला निर्माण भएको पूर्व-पश्चिम राजमार्गमा अहिलेको सवारी साधनको चापका कारण साँघुरो भएको छ, त्यसमा पनि यात्रीले खानेकुरा दिँदा बाँदरले अचानक बाटो काट्ने, बाटोमा कुद्ने गर्दा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए। 

उनका अनुसार आफ्ना सवारीसाधन रोकेर राजमार्गभन्दा अलि टाढा गएर खानेकुरा दिँदा त हुने तर सवारीसाधन गुडिरहेको बेला झ्यालबाट दिइने खानेकुराका कारण बाँदरले बाटो काट्दा कुद्ने सवारी साधनका साथै बाँदर पनि दुर्घटनामा पर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्