टर्की (टुर्किये) र सिरियामा गत सोमवार गएको भूकम्पका २८ हजारजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ६ हजारवटा भवन भत्किसकेका छन् ।
यस्तो विनाश तथा निराशाको माहोलमा पनि आशाको किराण छर्ने घटना सार्वजनिक भएको छ ।
शनिवार दुई महिनाको एक शिशुलाई टुर्कियेको हाटे भन्ने ठाउँबाट भूकम्पको १२८ घन्टापछि उद्धार गरिएको छ । शिशुको उद्धार गरिँदा भीडले ताली बजाएर खुशियाली मनाएको थियो ।
हजारौं उद्धारकर्ताहरू अहिले पनि भत्केका भवनको भग्नावशेषमा कोही जीवितै भेटिन्छन् कि भनी खोजी गरिरहेका छन् । भूकम्पले घर उजाडेको अवस्थामा कठ्यांग्रिदो जाडोका कारण लाखौं मानिसको स्थिति दयनीय बनेको छ ।
भूकम्प गएको पाँच दिनपछि उद्धार हुने व्यक्तिमा दुई वर्षीया बालिका, ६ महिनाकी गर्भवती महिला र ७० वर्षीया वृद्धा पनि रहेको बताइएको छ ।
सोमवार आएको ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका शक्तिशाली परकम्पका कारण यस शताब्दीकै सातौं सबभन्दा विनाशकारी प्राकृतिक विपतको स्थिति सिर्जना भएको छ । सन् २००३ मा इरानमा आएको भूकम्पमा ३१ हजार मानिस मारिएका थिए र अहिलेको मृतक संख्या पनि त्यसको हाराहारी पुग्न लागेको छ ।