सोलुखुम्बु, ८ भदौ– साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ ।
त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्किएसँगै चहलपहल र धुवाँ देखिन थालेको हो ।
साउन महिनाभर आगो नबाल्ने यस गाउँको परम्परागत संस्कार अनुसार यस वर्ष पनि गाउँमा कसैले आगो नबालेको स्थानीय व्यवसायी गेलु शेर्पाले बताए । एक महिनापछि गएको शनिबार मात्र गाउँ फर्किका शेर्पाले अब भने स्थानीयको दैनिक कामकाज सुरु भएको बताए । ‘पहिलेदेखि नै यस्तै चलन छ, पुर्खादेखि मान्दै आएको चलन यस वर्ष पनि मानियो,’ उनी भन्छन् ।
खुम्बु पदमार्गको पर्यटकीय गाउँका रुपमा चिनिने दिङ्बुचेमा आगो बाल्दा खेती गरिएको आलु, उवा जस्ता अन्नलाई धुवाँले असर गर्छ भन्ने मान्यतासहित आगो बाल्न प्रतिबन्ध लगाइएको र सो चलन अहिले संस्कारकै रुपमा मानिदै आएको स्थानीय अगुवा बताउँछन् ।
आगो बाल्न नपाइने भएपछि साउन महिनाभर गाउँमा कोही पनि बस्दैनन् र भदौ लागेसँगै चहलपहल शुरु हुन्छ । पर्यटकीय क्षेत्र भएपनि साउन महिना पर्यटक नआउने महिना भएकाले यो चलनबाट आफूहरुलाई खासै समस्या नभएको स्थानीय बताउँछन् ।
कहिलेदेखी यो चलन शुरु भएको भन्ने यकिन नभएपनि पुर्खाहरु चौँरी गोठ लिएर आई मानव वस्ती बसाली खेती गर्न थालेसँगै यो चलन शुरु भएको हुनसक्ने स्थानीय अगुवाको भनाइ छ ।