
सरकारी स्वामित्वको समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले ६२ औं स्थापना दिवस मनाएको छ ।
आइतवार काठमाडौंमा विशेष समारोह आयोजना गरी राससले आफ्नो स्थापनाको ६२ औं दिवस मनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राससको ६२ औं वार्षिकोत्सव समारोहको उद्घाटन गरे ।
समारोहमा प्रधामन्त्री प्रचण्डले स्वदेशी र विदेशी सञ्चारमाध्यमहरूलाई समेत समाचार सेवा प्रदान गर्दै आएको ६ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रूपमा रहेर काम गर्ने विश्वास व्यक्त गरे ।
विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि आफूलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए ।
‘विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी हामीले पनि आफ्ना सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक छ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक छ । कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु हो ।
'वर्तमान सरकार यसमा अडिग छ । वर्तमान सरकार नागरिकको विचार अभिवृद्धिको सम्मान गर्छ । पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ छ । सरकारको यो मान्यतालाई रासस जस्ता समाचार प्रदायक संस्थाहरूले सम्मान र विस्तार गर्नुपर्छ । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँमात्र प्रेस स्वतन्त्रता सम्भव छ ,’ प्रधानमन्त्री प्रचण्डले भने।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताइन् ।

सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन, कानूनहरू संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयिक सुधार गर्ने मन्त्री शर्माले बताइन् ।
‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरूसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभूति हुनेगरी कानूनहरूमा संशोधन परिमार्जन एवम नयाँ कानून बनाई समसामयिक सुधार गर्न लागिपरेको छ । नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षहरूको सकारात्मक सहयोग गर्न आह्वान गर्न चाहन्छु’, मन्त्री शर्माले भनिन् ।
मन्त्री शर्माले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् ।
समारोहमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुलुककै एक आधिकारिक समाचार प्रदायक संस्थाको रुपमा राससको विकास र विस्तार गरी यसको सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने बताए ।
‘उपलब्ध सीमित स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरेर छापा तथा प्रसारणलगायतका आमसञ्चारमाध्यम र तीनका पाठक, दर्शक र श्रोताको चाहनाअनुरुपका समाचार प्रस्तुतिमा हाम्रो ध्यान सदैव केन्द्रित छ’, झाले भने ।
राससका महाप्रबन्धक सिद्धराज राईले भविष्यमा २४ सै घण्टा समाचार सेवा सञ्चालन गर्ने योजना रहेको बताए । ‘केही जनशक्ति व्यवस्थापन गर्नसके राससले सेवा विस्तारका लागि २४सै घण्टा समाचार सेवा सञ्चालन गर्ने योजना बनाएको छ’, राईले भने ।
राससले ६२ औं स्थापना दिवसदेखि आफ्ना ग्राहक सञ्चारमाध्यमलाई सम्मान गर्न शुरु गरेको छ ।
यस वर्ष लोकान्तर डट्कम, गोरखापत्र र दी हिमालयन टाइम्स सम्मानित भएका हुन् । प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री शर्माले लोकान्तर डट्कमका सम्पादक विमल गौतम, गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी र दी हिमालयन टाइम्सका रामकुमार कामतलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री शर्माले राससले प्रकाशित गरेको ‘रासस हिजो र आज’ नामक पुस्तकको विमोचन गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र रासस कर्मचारी संघका कार्यवाहक अध्यक्ष पवित्रा गुरागाइँले कर्मचारीको वृत्ति विकासबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

