
महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ ।
सोमवार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तलाई बढीमा २०० रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि शुरू गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाइ गरेको बताए ।
उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरे पनि कोषलाई भने त्यो नियम लागू नहुने भएकाले साधुहरूको सम्मानस्वरूप दक्षिणा दिएर पठाएको बताए । उनले साधुहरूलाई दक्षिणा दिनु सम्मानको संकेत रहेको भन्दै साधुहरूलाई सबैले सधैं सम्मानपूर्ण व्यवहार गर्नुपर्ने बताए ।
शिवरात्रिका बेला साधुहरूले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरूप साधुसन्तहरूलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिण दिई सोमवार बिदाइ गरिएको उनले बताए ।
साधुसन्तहरूलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरू उपस्थित रहेका थिए ।