१३ असार २०८३, शनिबार

स्कटल्यान्डले नामिबियालाई हरायो

स्कटल्यान्डले नामिबियालाई हरायो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमवार भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो । 

स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य नामिबिया ३८ दशमलव ४ ओभरमा १७८ रनमै समेटियो ।

नामिबियाका लागि लो ह्यान्डर लरेन्सले सर्वाधिक ५२ रनको योगदान दिए भने कप्तान जेरार्ड इरस्मसले ४३ रन जोडे । जेन ग्रिनले २५ तथा शउन फोउच र रुबेन ट्रम्पलम्यानले समान १०/१० रन जोडे ।

स्कटल्यान्डका लागि मार्क वाटले ४, माइकल लिस्कले ३, ब्रेन्डन म्याकमुलनले २ तथा क्रिस ग्रेभेसले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको स्कटल्याण्डले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिची बेरिङ्टनले ३२ बनाए । माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन तथा क्रिस ग्रेभेसले १४ रन जोडे । मार्क वाटले १० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान एक्लैले ५ विकेट लिए भने ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए । बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो र पिक्की या फ्रान्सले समान १/१ विकेट झारे । 

यस सिरिजमा नामिबिया चारै खेलमा पराजित भएको छ । यसअघि नामिबिया नेपालसँग २ विकेट र ३ विकेट तथा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको थियो । 

नामिबिया ३४ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ । लिग दुईको च्याम्पियन बनिसकेको स्कटल्यान्ड ३५ खेलबाट ५० अंकका साथ शीर्ष स्थानमा छ । यस शृंखलाको अन्तिम खेल भोलि नेपाल र स्कटल्यान्डबीच हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्