
निर्वाचन आयोगले समयमै निर्वाचन खर्च नबुझाउने स्थानीय तहका उम्मेदवारलाई जरिवाना तोके पनि संघ र प्रदेश सभा उम्मेदवारले भने समयमै निर्वाचन खर्च बुझाएका छन् ।
तर स्थानीय तहको निर्वाचनका उम्मेदवारले समयमा खर्च विवरण नबुझाए पनि माफी मिनाहा भएको छ ।
भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले माफी दिन निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरेकी थिइन्।
निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बझाउनुपर्छ ।
प्रतिनिधिसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा १ सय ५ जना उम्मेदवार रहेका थिए। १२ निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा १ सय १० जना उम्मेदवार थिए । प्रतिनिधिसभाका दुई जना उम्मेदवारले भने समयसीमा सकिए पनि खर्च विवरण बुझाएका छैनन् । उनीहरू निर्वाचनमा पराजित भएकाहरू हुन्।
प्रतिनिधिसभा मोरङ १ बाट उम्मेदवार बनेका यमप्रसाद दाहाल र क्षेत्र नम्बर क्षेत्रका शिव कुमार पौडेलले भने खर्च बुझाएका छैनन् । उनीहरू दुवै जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रदेश १ निर्वाचन कार्यालयका शाखा अधिकृत महेश कुमार ठाकुरका अनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
उनले ३० लाख ६४ हजार ३९९.४० पैसा खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी रहेका एमालेका भानुभक्त ढकालले भने शर्माले भन्दा आधा कम खर्च गरेको विवरण बुझाएका छन् । ढकालले ११ लाख ५० हजार बुझाएका छन् । शर्मा भने कांग्रेसका हुन् । शर्मा नोबेल मेडिकल कलेनका सञ्चालकसमेत हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले १९ लाख २९ हजार ८१६ रुपैयाँ चुनावमा खर्च गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका विनोद ढकालले भने २६ लाख ४८ हजार २३० रुपैयाँ खर्च गरेका थिए । मोदी भने माओवादीका हुन्।
क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कांग्रेसका डिग बहादुर लिम्बूले ७ लाख ७४ हजार १ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम खतिवडाले भने १८ लाख ८८ हजार ४२२.६६ पैसा खर्च गरेका छन् ।
क्षेत्र नम्बर २ मा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले भने झन्डै १८ लाख खर्च गरिन्। उनले १७ लाख ९५ हजार ९१६ रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन्।
एमालेका ऋषिकेश पोखरेलले २० लाखको हाराहारीमा खर्च गरेका छन् । पोख्रेलले १९ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेको विवरण बुझाएका हुन्। पोखरेल विजयी भएका थिए।
निर्वाचितभन्दा पराजित हुनेहरूको खर्च बढी
क्षेत्र नम्बर ५ बाट निर्वाचितभन्दा पराजित भएकाहरूले धेरै खर्च गरेका छन् । यस क्षेत्रमा सत्ता गठबन्धन र विपक्षी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र योगेन्द्र मण्डल निर्वाचित भएका थिए ।
तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिव कुमार मण्डल 'केवट' र विपक्षी गठबन्धनबाट जसपाका राजकुमार यादव चुनावी मैदानमा थिए । एमालेले जसपासँग गठबन्धन गरेपछि योगेन्द्रले एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले १४ लाख ७० हजार ४६७ खर्च गरेको विवरण बुझाएका छन् । जसपाका राजकुमार यादवले भने १७ लाख ५० हजार खर्च गरेको विवरण बुझाएका छन् । माओवादीका केवटले ८ लाख ६७ हजार ८६२.५१ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।
यस्तै क्षेत्र नम्बर ६ मा भने नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका डा .शेखर कोइरालाले १९ लाख ८१ हजार २०५ रुपैयाँ खर्च गरेको विवरण आयोगलाई बुझाएका छन् । एमालेका लालबाबु पण्डितले भने १३ लाख ९७ हजार १०८ रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन्।
उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम, (सामाजिक सञ्जालसमेत )कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायत शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
कहाँ कति खर्च गर्न पाइने ?
मोरङका ३ वटा क्षेत्रका उम्मेदवारले ३१ लाख र ३ वटा क्षेत्रका उम्मेदवारले २९ लाख निर्वाचनमा खर्च गर्न पाउने व्यवस्था गरिएको थियो। आयोगका अनुसार क्षेत्र नम्बर ४,५, र ६ का उम्मेदवारले अधिकतम् भने २९ लाख मात्रै खर्च गर्न पाउँथे ।
भौगोगिक रूपमा विकट ,मतदाता संख्या,मतदान केन्द्रका आधारमा आयोगले खर्चको सीमा तोकेको थियो ।