
दूरसञ्चार संस्थान (अहिलेको नेपाल टेलिकम)मा काम गरिरहेको समयमा सुगतरत्न कंसाकार एक दिन हाकिमसँगै टेलिफोनको एक्सचेन्ज राख्ने जग्गा प्राप्तिका लागि स्थल अवलोकन गर्न नगरकोट गएका थिए, झण्डै २२ वर्ष पहिले । माओवादी सशस्त्र द्वन्द्वका कारण पर्यटकीय गतिविधि खुम्चिँदै थियो, तर उपत्यकाका डाँडाकाँडामा जग्गाको कारोबार बढिरहेको थियो ।
टेलिफोनको एक्सचेन्ज स्थापनाका लागि नयाँ मान्छेले जग्गा अवलोकन गरिरहेको देखेपछि एक जना जग्गा व्यवसायी उनीहरूको पछि लागे । आफूसँग पनि एउटा आकर्षक जग्गा रहेकाले हेरिदिन उनले आग्रह गरे ।
‘रिटायर्ड लाइफ’मा छाप्रो बनाएर बस्न हुन्छ भनेर ती व्यवसायीले हत्ते गरेपछि सुगत त्यो जग्गा हेर्न राजी भए । ‘डाँडामा बसेर साखुँदेखि काठमाडौंको धरहरा र वरिपरिका हिमाल’ देखिने त्यो जग्गा लिन सुगतसँगै गएका हाकिमले बढी जोड गरेका थिए । सुगतलाई जग्गामा लगानी गर्न प्रोत्साहन गर्ने उनका हाकिम थिए, रघुवरलाल श्रेष्ठ ।

ती जग्गा व्यवसायीले नगरकोटमा एउटा डाँडो देखाए– आकर्षक मूल्यको अफरसहित । ८ रोपनी जग्गाको मूल्य ११ लाख रुपैयाँ । अर्कै कामले जाँदा भेटिएको जग्गाबारे सुगतले घरमा आएर श्रीमतीलाई जानकारी गराए । एकपटक जग्गा हेर्ने घर सल्लाह भयो ।
बिदाको दिन कंसाकार दम्पती जग्गा हेर्न गए । जग्गा मनपर्यो । तर, उनीहरूलाई एउटा शंका भयो– यति सस्तो किन दियो ? पछि थाहा भयो, ८ रोपनीमध्ये ४ रोपनी जग्गा डाँडामा र ४ रोपनी तल भिरालोमा रहेछ ।
‘काठमाडौं कमलादीमा जन्मे हुर्केको मलाई नगरकोटमा घर बनाएर बस्ने सोचाइ त थिएन, तै पनि माथिको ४ रोपनी जग्गाको मूल्य ११ लाख मानेर जग्गा लिने निर्णयमा पुग्यौं,’ कंसाकारले २२ वर्ष अगाडिको त्यो क्षण स्मरण गर्दै लोकान्तरसँग भने ।
कंसाकारले विना योजना किनेको त्यो जग्गामा अहिले भव्य रिसोर्ट बनेको छ । नाम हो, तायो इको रिसोर्ट । जाप्निज जस्तो सुनिने ‘तायो’ बिल्कुल नेपाली नाम हो । शान्तिडाँडामा रातो टायल लगाएका एउटै आकारका चिटिक्क परेका भिल्लासहितको रिसोर्टले नगरकोटको सुन्दरता थपेको छ ।
‘फलाम किन्दा सुन बनेको’ जग्गाकै कहानी बाँकी छ । जग्गा व्यवसायीले तोकेको मूल्य ११ लाखमै जग्गा पास गर्न कंसाकार दम्पती राजी भए । पास गर्ने दिन तोकियो । अन्तिममा कुरो अड्कियो, जग्गा धनीलाई पैसाचाहिँ चितवन लगेर दिनुपर्छ ।
नगरकोटका जग्गाधनी चितवनमा बस्दै आएकाले त्यहीँ लगेर पैसा दिनुपर्ने अडानले कंसाकारलाई धर्मसंकट पर्यो । वाणिज्य बैंकको ड्राफ्ट बनाएर कार्यालय बन्द हुने समयमा जग्गा पास भयो ।
२०५७ सालतिर किनेको त्यो जग्गा झण्डै २ दशकसम्म यत्तिकै बाँझो रह्यो । शुरूमा ८ रोपनी जग्गा जोडेकोमा सँधियारहरूले समेत आफ्नो जग्गा लिइदिन आग्रह गरेपछि पाँच वर्षको बीचमा थपेर ३० रोपनी पुर्याए । विना योजना ख्यालख्यालमा लिएको त्यो जग्गा अहिले आएर अनमोल भयो ।
‘त्यो बेला रिसोर्ट बनाउने योजनाले जग्गा किनेको थिइनँ, यत्रो संरचना बन्ला भन्ने सोचेको पनि थिइनँ,’ रिसोर्टमा बसेर कंसाकारले पुराना दिन सम्झिए ।

अनि बन्यो रिसोर्ट खोल्ने योजना
नेपालमा दूरसञ्चार क्षेत्रको तीव्र विस्तारको समयमा कंसाकार टेलिकमको महाप्रबन्धक (जीएम) थिए । पछि उनी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष र महाप्रबन्धक बने । महत्त्वपूर्ण निर्णय लिन जोखिम मोल्ने क्षमताकै कारण कंसाकारले आफूलाई सफल व्यवस्थापकको रूपमा उभ्याउन सफल भए । निर्णय क्षमता भएकै कारण उनी दरबारदेखि गणतान्त्रिक सरकारसम्मको नजरमा परेका थिए ।
जागिरे जीवनबाट रिटायर्ड लाइफ बिताइरहेका कंसाकारले पुनः एउटा जोखिम उठाए– नगरकोटमा सुविधासम्पन्न अत्याधुनिक रिसोर्ट खोल्ने भनेर ।
काठमाडौंको नरदेवीमा जन्मेका र कमलादीका रैथाने कंसाकारका बुवा (देवरत्न कसांकार) व्यापारी (साहु) थिए । कंसाकारका हजुरबुवाले तिब्बतमा चियाको व्यापार गर्दथे । नेपालका अहिले ठूला कहलिएका व्यावसायिक घरनाले समेत सुगतका बुवाबाट ऋण लिएर व्यापार शुरू गरेका थिए ।
केही समयको ग्यापपछि कंसाकार परिवार फेरि व्यवसायमा जोडिएको छ– हस्पिटालिटी बिजनेसमार्फत ।

नगरकोटमा अहिले भएकाभन्दा फरक खालको रिसोर्ट बनाउने योजना सुनाउँदै गर्दा सुगतलाई धेरैले ‘पागलपन’ भन्दै निरुत्साहित बनाए । तर पनि उनी आफ्नो योजनाबाट पछाडि हटेनन् । नाताले सानीआमाको छोरा पर्ने व्यवसायी रूपज्योतीले चाहिँ कंसाकारलाई प्रोत्साहित गरेका थिए ।
हस्पिटालिटी बिजनेसमा हात हाल्नुको पछाडि छोराको भूमिका छ । सिंगापुरबाट होटल म्यानेजमेन्ट पढेर आएका छोराले यो क्षेत्रमा सम्भावना रहेको र केही काम गर्नुपर्ने प्रस्ताव गरे । सिंगापुरबाट फर्केर काठमाडौंमा कलेज र ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट चलाए पनि त्यो पार्टनरशिप जमेन । त्यसपछि के गर्ने ? सुगतले आइडिया निकाले नगरकोटमा आफ्नै जग्गामा रिसोर्ट बनाउने । रिसोर्ट त बनाउने तर थोरै लगानीले पुग्दैन । अहिले भएका भन्दा केही पृथक रिसोर्ट बनाउने प्रपोजल तयार भयो । बैंकले सहजरूपमा ऋण स्वीकृत गर्यो ।
रिसोर्ट निर्माणको काम भर्खर शुरू भएको थियो, कोरोना महामारीको धक्का लाग्यो । कोरोना महामारी शिथिल भएसँगै संरचना निर्माणको काम सकियो । तरलता अभावका कारण बैंकले समयमा ऋण दिन सकेन । सन् २०२२ को अन्त्यतिर आउँदा पूर्वाधार निर्माणको काम करीब सम्पन्न भयो । सन् २०२३ को जनवरीदेखि सफ्ट ओपनिङमा रिसोर्ट सञ्चालनमा आएको छ ।
रिसोर्टका प्रबन्ध निर्देशक सुमिररत्न कंसाकारले पर्यटकीय क्षेत्र नगरकोटमा अतिथिको सम्मानका लागि तायो तम्तयार रहेको बताए । उनले रिसोर्टमा आउने पाहुनाले फरक अनुभूति गर्न पाउने बताए ।
जसले बनाए आँखा नबिझाउने संरचनाको स्केच
नेपाली रिसोर्ट आर्किटेक्चरको परिवेशमा नमूना बनेको तायो रिसोर्टका डिजाइनर हुन्– आर्किटेक्ट उज्ज्वलमान शाक्य ।
रिसोर्टका संरचनाको स्केच बनाउनै उज्ज्वलमानले झण्डै दुई वर्ष खर्चिएका थिए । ‘मेरो लागि चुनौती थियो एउटा नमूना काम गरेर देखाउने । संरचनाले पूर्णता पाउँदा सपना पूरा भएजस्तो लाग्यो,’ स्पेनमा एउटा यस्तै प्रोजेक्टमा काम गरिरहेका शाक्यले लोकान्तरसँग भने ।
रिसोर्टका संरचनाको बाहिरी आवरणमा परम्परागत नेपाली वास्तुकला प्रयोग गरिएको छ भने भित्र नवीनतम् प्रविधिको प्रयोग भएको छ । सबै संरचनाको छानोमा टायल लगाइएको छ । कतै पनि मार्बल प्रयोग गरिएको छैन ।
‘यस्तो सुन्दर ठाउँमा क्रंकिटको भवन ठड्याउनुभन्दा परम्परागत वास्तुकलाको संरचना बनाउनु पर्छ भन्ने लाग्यो,’ शाक्यले भने, ‘काठमाडौं र आसपासको हावापानीमा मार्बल उपयुक्त हुँदैन भनेर कतै प्रयोग गरिएको छैन ।’
भूकम्प प्रतिरोधात्मक प्रविधि अपनाएर बनाइएका कंक्रिटका संरचनालाई नेपाली इँटा, टायल र काष्ठकलाले छोपिएको छ । कोठाभित्र पिल्लरका संरचना देखिँदैन ।
‘महंगो र काठमाडौंको मौसमका लागि अनुपयुक्त मार्बल हामीले प्रयोग नगर्नुको अर्को कारण नेपाली उत्पादनको प्रयोग र नेपाली कालिगढलाई रोजगारी दिनु पनि हो,’ शाक्यले भने ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले कार्यकालको अन्त्यमा यति रोजगारी सिर्जना गर्यौं भनेर उपलब्धि सार्वजनिक गरेको स्मरण गर्दै कंसाकारले थपे, ‘विदेश जान रोक्छौं भनेर मात्र भयो र स्वदेशमा रोजगारी पनि सिर्जना गर्नु परेन ?’ भर्खर सञ्चालनमा आएको रिसोर्टमा प्रत्यक्ष रूपमा ४६ जनाले रोजगारी पाएका छन् ।
नवीकरणीय ऊर्जाको प्रयोग गरेर सूर्यको किरणद्वारा कोठा तताउने प्रविधि अपनाइएको छ । रिसोर्ट प्रवेश गरेलगत्तै कलात्मक शैलीको फल्चा (पाटी) बनाइएको छ, जहाँ बसेर हिमालको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । फल्चा गल्ली हुँदै भित्र प्रवेश गरेपछि रिसोर्टका मुख्य संरचनामा पुगिन्छ ।
रिसोर्टमा नेपाली शैलीका १० वटा कटेजसहित कुल १८ वटा संरचना छन् । प्रत्येक कटेजमा चारवटा बेडरूम छन् । रिसोर्टमा कुल ४० वटा कोठा छन् । ४० वटै डिलक्स रूम हुन् भने दुईवटा स्वीट रूम छन् ।
बाहिर कलात्मक देखिएको रिसोर्टको भित्र भने अत्याधुनिक संरचना छन् । फरक क्षमता भएका व्यक्तिलाई प्रवेशका लागि रिसोर्टका रूमसम्मै ह्वीलचेयर लैजान सकिने र्याम बनाइएको छ । बाथरूमको डिजाइन पनि सोही प्रकारको छ ।
‘बायो इन्जिनीयरिङ’ प्रविधि अपनाएको रिसोर्टमा रेनवाटर हार्भेस्टिङ, वेस्ट वाटर रिसाइकलिङ र फोहोरबाट जैविक मल बनाउने प्रविधि जडान गरिएको छ । आकाशे पानी संकलनका लागि १ लाख लिटरको ट्याङ्की बनाइएको छ ।
किन रोजियो तायो नाम ?
जीवित देवी कुमारीले लगाउने गहना (नेक्लेस)को नाम हो, तायो । रिसोर्ट प्रवेशद्वारको फाउन्टेनमा तायोको आकृति राखिएको छ । नाम भने सुगतपत्नी पद्मिनी कंसाकारले जुराएकी हुन् ।
‘धेरैले तायो सुन्दा जाप्निजजस्तो लाग्ने गरेको बताउँछन्, तर यो नेपाली नाम हो । जीवित देवी कुमारीले लगाउने नेक्लेसबाट नाम राखिएको हो,’ सुगतले बताए । रिसोर्टमा पुगेपछि मात्र धेरैले थाहा पाउँछन् तायोको अर्थ ।
रिसोर्टको रिसेप्सनदेखि रूममा पनि मौलिक कला झल्किने तस्वीहरू राखिएका छन्, प्रायः तस्वीरमा तायो देखिन्छ । रेस्टुरा र बारमा पनि कलात्मक आँखीझ्याल राखिएको छ ।
तायो इको रिसोर्टमा सभा समारोहका लागि आकर्षक सभाहल बनाइएको छ । नीलदेव (नीलप्रभा कंसाकार र देवरत्न कंसाकारको नामबाट) नाम राखिएको हलमा अत्याधुनिक ‘स्टेट अफ आर्ट’ प्रविधियुक्त अडियो भिडियो प्रणाली जडान गरिएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका सेमिनारका लागि लक्षित गरेर सभाहल बनाइएको छ ।
जंगलको बीचमा रहेको रिसोर्टमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि कौशी र चौतारा निर्माण गरिएको छ । पर्याप्त ठाउँ भएकाले संरचना बनाउँदा कन्जुस्याइँ गरिएको छैन । काठमाडौंको पाँचतारे होटलका एक म्यानेजरले किचेनको संरचना हेरेर प्रशंसा गरेको उज्ज्वलले स्मरण गरे ।
६७ करोड लगानी, विश्वस्तरीय सुविधा
४० वटा डिलक्स रूम रहेको रिसोर्टमा अहिलेसम्म ६७ करोड लगानी भएको छ । जग्गाको समेत मूल्यांकन गर्दा यसको लगानी अर्बभन्दा माथि पुग्छ । काठमाडौंबाट सबैभन्दा नजिकको पर्यटकीय हब नगरकोटमा जग्गाको मूल्य आकासिएको छ ।
रिसोर्टमा स्पा लगायत केही संरचना थप्न बाँकी छ । ‘वर्ल्ड क्लास फसिलिटी’को सुविधा दिने दाबी गरेको तायोले आफूलाई पाँचतारे स्तरको रिसोर्टको मान्यता दिन पर्यटन विभागमा निवेदन दिएको छ । पर्यटन विभागले हालैमात्र रिसोर्टलाई पनि वर्गीकरण गर्न सकिने गरी खुलाएको थियो ।
रिसोर्ट अवलोकनका लागि पुगेका प्रायःले मौलिक संरचनाको तारिफ गर्ने गरेका छन् । ‘रिसोर्टमा लगानी गर्ने बैंकको अध्यक्ष यहाँ आउनुभएको थियो । यो संरचना देखेपछि ‘वी आर अल्सो प्राउड’ भन्ने प्रतिक्रिया दिनुभयो,’ कंसाकारले थपे । यो संरचना हेर्नका लागि पनि पर्यटक आउन थालेका छन् । रातिमा बास बस्नका लागि अन्य होटल बूकिङ गरेर गएका पर्यटक समेत संरचना देखेपछि पस्ने गरेको त्यहाँ कार्यरत कर्मचारीले बताए ।
कोरोना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै उठ्दैछ । विश्व बजारमा आएको आर्थिक मन्दी कम हुनासाथ नेपालमा एकपटक पर्यटकको ओइरो लाग्ने पर्यटन व्यवसायीको विश्वास छ ।
अनुभवी शेफबाट मौलिक परिकार
तायो इको रिसोर्टको अर्को विशेषता मौलिक खाना पनि हो । भारतका विभिन्न स्तरीय होटलमा काम गरेका मोहन कुँवर तायोको एक्जुकेटिभ शेफ छन् ।
भारतको बैंग्लोर, गोवा, हैदरावाद, चेन्नाइ र इन्डोर शहरमा ओबेराई, होलिडे इन र फाइन डायनिङजस्ता चेन रेस्टुरामा काम गरेका कुँवरले फरक खालको स्वाद दिलाएका छन् । इटालीयन खानामा उनको विशेष दख्खल छ ।

नेपाली खानामा सिस्नोको सुप, बट्टाइको सुपलगायत केही मौलिक परिकार समेत उपलब्ध छ । ‘यहाँ आउने ग्राहकले खानाका परिकारको एकदमै प्रशंसा गर्नुभएको छ । आफ्नै जग्गामा उत्पादित केही अर्ग्यानिक तरकारी पनि हाम्रो विशेषता हो,’ सुगतले भने ।