०७ असार २०८३, आइतबार

तीजको दिन ड्युटी खटिएका महिला प्रहरी भन्छन् – तीज चाहिँ चालिस कटेसी मनाउने !

कात्तिक २०, २०७४
तीजको दिन ड्युटी खटिएका महिला प्रहरी भन्छन् – तीज चाहिँ चालिस कटेसी मनाउने !

काठमाडौं, ८ भदौ – नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको दिन बिहीबार पशुपती मन्दिर परिसरमा महिला भक्तजनहरुको भीड थियो । महिलाहरु रातो साडी, चुरा, गहना र श्रृंगारले चिटिक्ट परेर पशुपतीनाथको दर्शन गर्न लाईनमा बसेका थिए ।

लाइनमा बसेका व्रतालु महिलाहरुलाई सहज रुपमा मन्दिर पु¥याउन तल्लिन देखिन्थिन् महिला प्रहरी कल्पना थापा । तीजको समयमा प्राय मन्दिरहरुमा भीडभाड हुने भएकाले धेरै प्रहरीको मन्दिर परिसरमा ड्युटी हुन्छ । थापाको बिहीबारको ड्युटी पशुपती मन्दिर परिसरमा थियो ।

प्रहरी पोशाकमा तीजको दिन काममा खटिएकी उनले तीज भनेर विदा नहुने सुनाइन् । ‘सुरक्षामै खँटिदा रमाइलो लाग्न थालिसकेको छ, अब त बानी भईसक्यो ।’ उनले भनिन् ।

थापा जस्तै पशुपती परिसरमा सर्वसाधारणको सुरक्षाको लागि खटिएकी सरीता भट्ट पनि ड्युटीमा व्यस्त थिइन् । उनले प्रहरीमा जागिर खाएदेखि अरु महिलाले जसरी तीज मनाउन नपाएको बताइन् । ‘११ वर्ष भयो प्रहरी सेवामा लागेको, तीजमा अहिले सम्म विदा बसेको छंैन,’ उनले भनिन्, ‘व्रत त बसेकी छु तर तीजको लुगा लगाएर नाच्न चाहिँ पाउँदिन ।’

प्रहरी सेवामा लाग्नु अघिको तीज संझदै उनले भनिन्, ‘जागीर खानु भन्दा पहिला रमाइलो हुन्थ्यो, घर नजिकको मन्दिरमा गइन्थ्यो, पुजा गरिन्थ्यो नाचगान गरिन्थ्यो ।’

उनीसंगै रहेका अन्य महिला प्रहरीहरुले थपे, ‘हाम्रो त माइत पनि यही, घर पनि यही, तीज पनि यही हो । विदेश जानेहरुले चालीस कटेसी रमाउला भने जस्तै हो हामीलाई पनि । पेन्सन पाकेपछि मनाउँला तीज, चालिस कटेसी रमाउँला ।’

प्रहरी सेवामा रहेकाहरुलाई चाडपर्वको समयमा भएको विदा पनि कटौती गरिन्छ । त्यसैले महिला प्रहरीहरुले तीजमा विदा नमाग्ने गरेको बताउँछन् । तीजको समयमा मन्दिरमा ड्युटी पर्दा अरु महिलाले लगाएको रातो साडीले उनिहरुको मन अमिलो बनाउँछन् ।

सबै महिलाले साडी लगाएर मन्दिर आएको देख्दा नाचेको देख्दा आफुलाई पनि साडी लागाउन र नाच्न रहर लाग्ने बताउँछिन् महिला प्रहरी रामप्यारी अधिकारी । उनले भनिन्, ‘सबै महिलाहरुले साडी लगाएर, गित गाउँदै नाचेको देख्दा रहर त लाग्छ नि । तीज नै भएपनि ड्युटीमा कार्यालयकै पोषाक लगाउनुपर्छ ।’

आफूले लगाएको पोशाकले कर्तव्य बोधको भावना आउने र साडी लगाउने तथा नाँच्ने चाहाना दबिने उनले बताइन् ।
उनीहरुजस्तै पशुपति मन्दिर क्षेत्रमा एक हजार महिला प्रहरीहरु ड्युटीमा खटिएका छन् । ड्युटीमा खटिएका धेरै महिलाहरु तीज मान्छन् । व्रत पनि बसेका हुन्छन् । तर उनीहरु अन्य महिलाले जस्तो रातो साडीमा लाइनमा बसेर मन्दिर जान, पुजा गर्न र नाचगानमा रमाइलो गर्न भने पाउदैनन् । नत अरु महिलाले जस्तो माइती र साथीसंगी संग दुःख सुखका कुरा गर्न पाउछन् ।


महिलाको महान् पर्वको रुपमा लिईने चाड तीजमा सबै कार्यलयहरुमा महिलालाई बिदा दिइन्छ । तर देशभर प्रहरी सेवामा रहेका हजारौं महिलाहरु तीजको दिन कार्यलय पोशाकमा ड्युटीमा खटिएका हुन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्