०६ असार २०८३, शनिबार

राष्ट्रपति निर्वाचनमा पनि इभीएम प्रयोग नहुने

फागुन १०, २०७९
राष्ट्रपति निर्वाचनमा पनि इभीएम प्रयोग नहुने

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा विधुतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन, इभीएम) को प्रयोग नहुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मेशिन पुराना भएको र नयाँ खरिद गर्ने तत्काल कुनै प्रक्रिया नरहेकाले मेशिनको प्रयोग नहुने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “पुरानो उपकरण काम लाग्ने अवस्थामा छैन, नेपालीले बनाएको प्रमाणीकरण भएको छैन, नयाँ खरिद गरेर प्रयोग गर्ने सम्भावना देखिन्न ।” राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । 

गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचन र मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले इभीएमको प्रयोगको सम्भाव्यताबारे अध्ययनसमेत गरेको थियो । तर सम्भाव्यता अध्ययनका लागि गठन गरिएको समितिले कानुनी अड्चन रहेको जनाएपछि स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएम प्रयोगको सम्भावना सकिएको छ । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८३१ मतदाता छन् । सीमित सङ्ख्यामा मतदाता रहने र एकै स्थानमा दुई वटा मतदान केन्द्र रहने हुँदा इभीएमको प्रयोग सम्भव देखिएको थियो । मत बदर नहुने, मतदान र गणना प्रक्रिया छिटोछरितो हुने हुनाले इभीएम खरिद महँगो भए पनि प्रयोग सहज हुने अनुमान गरिएको थियो । (गोरखापत्रबाट)

salt training

कमेन्ट गर्नुहोस्