१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

राष्ट्रपतिको विषयमा दौडधुप तीव्र, शुक्रबार निर्णायक छलफल

फागुन १२, २०७९
राष्ट्रपतिको विषयमा दौडधुप तीव्र, शुक्रबार निर्णायक छलफल

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहत उपस्थित भएका छौँ–
तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम राष्ट्रपति उम्मेदवारको रुपमा अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितिमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी नेपाल (जसपा)का शीर्ष नेता सम्मिलित बैठकले नेपालको नाम राष्ट्रपतिको रुपमा अघि सारेको हो । 

बैठकपछि नेताहरुले छलफल जारी रहेको भनेपनि आन्तरिक रुपमा भने माधव नेपाललाई नै अघि सार्ने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार माधव कुमार नेपालको नामबारे शुक्रबार कांग्रेस र एमाले दुबैसँग वार्ता गरिनेछ ।

सो छलफलको आधारमा पुरानो गठबन्धन बन्ने वा एमालेसँगैको हालको गठबन्धन अघि बढ्ने भन्ने निर्क्यौल हुनेछ । राष्ट्रपति पदमा शनिबार मनोनयन दर्ता हुने भएकाले शुक्रबारको वार्ता निर्णायक हुने विश्वास गरिएको छ ।
००००
तीन दलको बैठकपछि नेकपा एकीकृत समाजवादीका उपहासचिव प्रकाश ज्वालाले नेकपा माओवादी र नेकपा एस र जसपाबीच वाम–समाजवादी मोर्चा बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले भने, ‘पुरानो गठबन्धन ब्युँताउने र नेकपा ब्युँताउने दुवै विषयमा कुरा भएन ।’ यी तीन दलबीच कार्यगत एकता गरेर जाने विषयमा सकारात्मक छलफल भएको ज्वालाले बताए।
००००
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन् । रफ्त सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई दुर्घटनाको बाटोमा जानबाट रोक्न पनि सहमतिको प्रयास जारी रहेको बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।
उनले बिहीवार बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताए ।
अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।’
००००
यसैगरी  ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ ।
००००
राष्ट्रपति निर्वाचनको तयारीका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताबीचको छलफल भएको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुबीच पनि छुट्टै छलफल भएको थियो । 
००००
एकीकृत समाजवादीसँगको छलफलमा प्रचण्डले एमाले अध्यक्ष ओलीले जुनसुकै बेला धोका दिन सक्ने बताएका थिए । बिहीवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रचण्डले ओलीबाट धोका पाउन सक्ने भएकाले आफूले राष्ट्रिय सहमतिको कुरा गरेको बताएका थिए ।
००००
नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ ।
सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।
००००
सत्तारुढ प्रमुख दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता हुने दिन १३ फागुनका लागि एमालेले सचिवालय बैठक डाकेको हो। 
बिहान ९ बजेका लागि बैठक बोलाइएको छ एमाले उपमहासचिव विशाल भट्टराईले लोकान्तरलाई जानकारी दिए।
००००
प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले आफ्नो नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने विवरण सार्वजनिक भएपछि बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका थिए।
००००
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन्। यूएईमा हुन लागेको आईसीसी विश्वकप लिग श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने यूएई जाने टिममा परेका छैनन्।  

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रोहितले सन्दीप टोलीको महत्वपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताए। यसैबीच प्रधानमन्त्री प्रचण्डले लिग बिजेता खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने घेषणा गरेका छन् । प्रचण्डले खेलाडीहरुसँग भेटवार्ता समेत गरेका थिए । 
००००
यसैबीच लामिछाने आईसीसी क्रिकेट वल्र्डकप लिग टुअन्तर्गत युएई र पीएनजीविरुद्धको सिरिजका लागि यूएई जान अनुमति माग्दै सर्वोच्च अदालत पुगेका छन् ।
उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् । सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहीवार सर्वोच्चमा निवेदन दिएका हुन् ।
००००
सरकारले कोरोनाविरुद्ध १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।

गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्ध अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो ।
००००
न्यायाधीश समाजले पूर्वन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति हुन संविधानले कुनै पनि प्रतिबन्ध नलगाएको जनाएको छ।
न्यायाधीश समाज नेपालका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले एक विज्ञप्ति जारी गरी पूर्वन्यायाधीशप्रति व्यक्त भइरहेको धारणाप्रति आपत्ति व्यक्त गरेका छन्।
००००
नेपाल दूरसञ्चार प्राधिकरणले दिएको शर्तविपरीत नेपाल टेलिकमले डेढ महिनादेखि फाइभजी परीक्षण गरिरहेको छ । नियामक निकायले सबै उपभोक्तालाई परीक्षण गर्नु भनेको भए पनि टेलिकमले भने आन्तरिक रूपमा मात्रै फाइभजी परीक्षण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्