
४ दलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको बताए।
बैठकमा कांग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको बताए। महामन्त्री थापाले प्रस्तावमा आएका नामहरूबारे दलहरूले आफ्नो आफ्नो पार्टीमा छलफल गरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको बताए।
बैठकपछि के भने गगनले ?
‘राष्ट्रपति निर्वाचनको विषयमा नेपाली काँग्रेस पार्टीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलहरुसँग छलफल गरेको छ । कहिले छुट्टै कहिले तीन दलबीच बैटक बसिरहेको छ । विभिन्न विकल्पहरुको बारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । हामी टुंगोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ । साँझ ५ बजे बस्नेगरी सकिएको छ । हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ । आज हामी टुंग्याउनै पर्छ । नेपाली काँग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुले सहयोग गर्छ भन्ने अपेक्षा राखेकै छाँै । यसैगरी अन्य दलकोतर्फबाट फरक प्रश्तावहरु आए । तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्नेकुरामा सबै स्पष्ट छौँ । नेपाली काँग्रेसले आफ्नो उम्मेदवार अघि सारेको एउटा प्रश्ताव नेपाली काँग्रेस बाहेकका दलहरुले पनि अर्को प्रश्ताव गर्नुभएको छ । नेपाली काँग्रेसले अन्य दललाई किन सहयोग नगर्ने भन्ने प्रश्ताव आएको छ ।’
महामन्त्री थापाले कांग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरूले पनि सहयोग गर्ने अपेक्षा राखेको बताए। अन्य दलहरूले पनि कांग्रेसबाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको उनले बताए।