२२ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

कांग्रेस–माओवादी एकैठाउँमा, एमाले आक्रोशित

फागुन १३, २०७९
कांग्रेस–माओवादी एकैठाउँमा, एमाले आक्रोशित

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नदिएपछि एकाएक गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न पुगेका प्रचण्ड राष्ट्रपति निर्वाचनका क्रममा पुनः कांग्रेससँगै सहकार्य गर्न ठाउँमा पुगेका हुन् । यससँगै पुरानो गठबन्धन ब्युँतिएको छ भने त्यसमा जनमत पार्टीलगायतका दल पनि थपिएका छन् । पुरानो गठबन्धन ब्युँतिएसँगै सत्ता समीकरणमा समेत बदलाव आउन सक्ने देखिएको छ । 
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायत ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ बसेको बैठकले कांग्रेस उम्मेदवरालाई ससमर्थन गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। 
कांग्रेसलाई राष्ट्रपति दिने एउटा मात्र एजेण्डामा छलफल भएको र टुंगो लगाएको उनले बताए।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।
००००
पुस १० गतेको सहमति च्यातेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि सत्तासाझेदार एमाले आक्रोशित बनेको छ ।
प्रचण्डले धोकाधडी र दाउपेचको राजनीति गरेको एमालेले आरोप लगाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशलाई अन्तहीन अस्थिरतामा लैजाने खोजेको आरोप लगाए । ‘यो निर्णयले मुलुकलाई अन्तहीन अस्थिरतामा लग्यो भन्ने हाम्रो ठहर छ’, ज्ञवालीले लोकान्तरसँग भने ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
००००
परिवर्तित सन्दर्भमा आवश्यक छलफल र निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक  बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै एमालेले पनि ९ बजेका लागि बैठक बोलाएको छ । 
यसैबीच केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनेछ । 
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार झण्डै साढे २ घण्टा भेटवार्ता भएको छ ।
प्रचण्डकै आह्वानमा शुक्रवार साढे २ बजे बालुवाटार छिरेका ओली साँझ करीब ५ बजे बाहिरिएका थिए । तर, सहमति हुन सकेन । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि ओलीले वार्ता गरेका थिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गर्न बाध्य बनाइएको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर काम गर्न नसकिएको बालुवाटारमा आठ दलको बैठकमा बताएका हुन् ।
००००
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । यससँगै उनले राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् ।
००००
तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए ।
००००
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको बताएका छन्। 
शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको बताए।
००००
क्रिकेटर सन्दीप लामिछाने यूएई जान पाउने कि नपाउने भन्ने टुंगो आइतवार मात्र लाग्ने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई यसै प्रकरणसम्बन्धी अर्को मुद्दासँगै राखेर आइतवार पेश गर्न आदेश दिएको हो ।
००००
नेकपा एमालेका काठमाडौंका नेता पुण्यप्रसाद चौलागाईं जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
एमालेका काठमाडौं जिल्ला सदस्य एवं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर पदका प्रत्यासी समेत रहेका चौलागाईं साँखुनजिकै जंगलमा झुण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्